माइ साइ– थाइल्यान्डमा १५ दिनदेखि एक गुफामा फसेका १२ जना बालक र एक जना फुटबल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन्।
यसै क्रममा उद्धार कार्यमा खटेका एक जना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १ सय स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको बताएका छन्।
उनका अनुसार गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३ सय मीटरसम्म लामा छन्।
ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान र ती बालकको उद्धार गर्न सजिलो पर्ने बताइएको छ।
उद्धारमा खटिएका एक गोताखोरको बालकलाई खाना पुर्याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरुले मानिरहेका छैनन्।
यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान गरिएको छ।
ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी त्यस्ता चिम्नी निर्माण गरिएको थाई सेनाले जानकारी दिएको छ।
उता शनिबार बिहानसम्म पनि ती बालकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। उनीहरुले बाहिरबाट पठाइएको खानेकुरा खाएको र सामान्य अवस्थामा रहेको अधिकारीले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।