सुर्खेत– माग पूरा गराउन दबाव दिँदै आमरण अनसनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसियूमा भर्ना गरिएको छ।
विभिन्न सातबुँदे माग राख्दै अनसन सुरु गरेका विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्प्ताल भर्ना गरिएको हो। बुधबारदेखि अनसन बसेका तीन जना विद्यार्थीमध्ये रतनकुमार शर्मा र रोशन बस्नेतलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको आइसियू कक्षमा राखेर उपचार गरिएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इञ्जिनियरिङ संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इञ्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तकहरु राख्नुपर्ने लगायतका माग राख्दै विद्यार्थीले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन्।
आफ्ना माग विश्वविद्यालय प्रशासन समक्ष पटकपटक राखे पनि बेवास्ता गरिएपछि आमरण अनसन सुरु गरिएको विद्यार्थीले बताएका छन्। माग पूरा गराउन अनसन बसेका विद्यार्थीको स्वास्थ्य नाजुक बनिसक्दा पनि विश्वविद्यालय पदाधिकारीहरु समस्या समाधानका लागि गम्भीर नभएको भन्दै उनीहरुले नाराजुलुस लगायतका विरोध कार्यक्रम पनि गरिरहेका छन्। यसै क्रममा शनिबार विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ।
आफूहरुलाई वार्ताका लागि बोलाए पनि पदाधिकारी नआएपछि आक्रोशित बनेका विद्यार्थीले विश्वविद्यालय परिसरमा नाराजुलुस गरेका थिए। नाराजुलुसमा प्रहरीले लाठी चार्ज गर्दा १२ भन्दा बढी विद्याथी घाइते भएका छन्। विश्वविद्यालय परिसरमा हतियारसहित पसेका प्रहरीले विद्यार्थीमाथि लाठी प्रहार गरेका छन्।
यता विश्वविद्यालय प्रशासनले भने विद्यार्थीहरुले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ। विश्वविद्यालयले विद्यार्थीका जायज माग पूरा गर्ने प्रतिबद्धतासहितको पत्र विद्यार्थीलाई पठाएको छ। साथै, विश्वविद्यालयले आन्दोलन रोक्न र अनसन तोड्न समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।