ad

वैदेशिक रोजगारका लागि साउदी गएका एक नेपालीको करेन्ट लागेर मृत्यु

Nepal Live

रोल्पा- स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन्। पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ। 

रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते साउदीमा भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रस्ट्याएको छ। विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन। 

आव ०७२/०७३ मा वैदेशिक रोजगारीमा गएका ६ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए। यसैगरी, आव ०७३/०७४ मा खाडी गएका ४ हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो। चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ। 

यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन्। जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन्। 

यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ। यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेका छन्।रासस

प्राप्त प्रतिकृयाहरू

टंक बहाढुर थापा
बिषय बस्तुगत रुपमा ध्यानाकर्षण गर्नु पर्ने भनेको नेपाल सरकारले हो किनकि स्वदेशमै सरकारले केही रोजगार सिर्जना गरिदिएको भए हामी लाखौ यूवा किन खाडी मुलुकमा भौतारिन पर्थ्यो र हरेक बर्ष कति नेपाली दाजुभाइ हरु काठको रातो बाकसमा स्वेदश फर्कदाको पीडा कस्लाई छ यो पनि बुझिदिन पर्यो सरकार । परिवार लाई खुसी र सुखी राख्ने सुनौलो सपना बोकेर मरुभुमी को तातो घामको राप सँगसँगै सुख्खा बालुवा मा १२ घन्टा पसिनाले पैसा सातेको पीडा कस्ले बुझिदिने सरकार? पीडा हरु त अनगिन्ती नै छन् तर लेखेर मात्र के गर्नु सरकार ? यी समस्या हरु निरन्तरता नै रहि रहेको छ। सकेसम्म सम्पूर्ण यूवा वर्गहरुलाई रोजगारको ब्यबस्थापन गर्नु पर्यो सरकार । ताकी अागामि दिनहरुमा हामी जस्ता यूवा हरु बिदेशी खाडी मुलुक बाट काठको रातो बाकसमा फर्कन ननपरोस्। यही नै मेरो छोटो तिठो मीठो शब्द बाकी अर्को अंशमा । टंक बहाढुर थापा लुङ्ग्री गाउँपालिका गुम्चाल ६ रोल्पा । हाल क्वालालम्पुर मलेसिया।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार