इस्लामावाद- पाकिस्तानको निर्वाचन आयोगले २० हजारभन्दा बढी मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ। आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो।
आयोगका अधिकारीहरूले देशभर ८५ हजार ३०७ मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन्। पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने तय भएको छ। सो निर्वाचनमार्फत देशका सबै ४ प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधिहरू चयन हुनेछन्।
संवेदनशील मतदान केन्द्रहरु देशको उत्तरपश्चिमी खैबर पाख्तुङख्वा प्रदेशमा सबैभन्दा धेरै रहेका छन्। सो प्रदेशमा ७ हजार ३८६ ओटा संवेदनशील मतदान केन्द्रहरू रहेको अधिकारीहरूले बताएका छन्। दक्षिणी सिन्ध प्रान्तमा ५ हजार ७७६ संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ।
विद्रोही समूह, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ।
देशको पञ्जाब प्रदेशमा संवेदनशील मतदान केन्द्रहरूको सङ्ख्या ५ हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेका छन्।
संघीय राजधानी इस्लामावादका ३६० मतदान केन्द्रमध्ये १७३ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ।
संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने आयोगका अधिकारीहरूले बताएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।