इटहरी– वर्षातका समयमा जिल्लावासीलाई हरेक समय सतर्क रहन सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आग्रह गरेका छन्। सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा प्रजिअ उप्रेतीले प्रशासनले पीडितको उद्धार तथा सुरक्षाका विषयमा तयारी पुरा गरे पनि जनता आँफै सतर्क भए मात्र उद्धार कार्य प्रभावकारी हुने तर्क गरे।
सम्भावित डुवान क्षेत्रमा जनधनको क्षति नहोस् र समयमै उद्दार कार्य होस् भन्न सुरक्षा निकायका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लाइफ ज्याकेट, रबर बोट, रेस्क्यु डोरी र लगायतका संयन्त्रसहित तयारी अवस्थामा राखिएको पनि उनले बताए।
गएराति सुनसरी खोलामा आएको बाढीका कारण ५० घरपरिवार विस्थापीत भएको र पीडितहरुको उद्धार भइसकेको प्रजिअ उप्रेतीले जानकारी दिए। जिल्लामा कोसी नदीपछि बुढी, सेरा, भोक्राहा र सुनसरी खोलालाई सबैभन्दा बढी क्षति पुर्याउने खोलाको रुपमा लिइन्छ।
‘देवानगन्ज, कप्तानगन्ज, हरिनगरा, श्रीपुर, झोक्राहा, हरिपुर, कोसी गाउँपालिका लगायत दक्षिणी क्षेत्रलाई क्षतिका हिसावले संवेदनशील मानिएको छ।’, उनले भने,‘त्यसका लागि जनतालाई मौसम तथा खोलाको अवस्थाबारे जानकारी लिँदै गर्न अनुरोध गर्दछुा।’
कोसी ब्यारेजको आयु सकिएको र त्यसको मर्मत सम्भार हुन नसक्दा बारम्बार समस्या आएको उनले दावी गरे। ‘बर्सेनी बालुवा थुपारेर कोसीले आफ्नो उचाइ बढाइरहेको छ। यस्तो अवस्थामा जुनसुकै बेला कोसीले आफ्नो धार परिवर्तन गर्नसक्छ।’, उप्रेतीले भने।
मौसम विज्ञान विभागसँग समन्वय गरेर सम्भावित प्रकोपको विषयमा जानकारी गराउने विषयमा पहल भइरहेको पनि उनले जानकारी दिए। उनले बाढी तथा मौसमको अवस्थाका बारेमा स्थानीयहरुलाई मोबाइल मार्फत समयमै सूचना पुर्याउने र सम्भावित दुर्घटना हुनबाट बचाउने काम भइरहेको बताए।
स्थानीय सरकारलाई यस विषयमा ध्यानआकर्षण गराइसकिएको र सम्बन्धित निकायले पनि सक्रियता बढाएको उनले दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।