काठमाडौं– साढे ३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्री र गुप्तलाल भुसाल (रोशन) लाई धरौटीमा रिहा गर्ने जिल्ला र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनलाई चुनौती दिँदै सरकारले दायर गरेको निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीशद्वय चोलेन्द्र सम्सेर राणा र टंकबहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको सुनुवाइ चलिरहेको छ। सो इजलासले उच्च र जिल्लाको आदेश सदर गरेमा उनीहरु धरौटीमै रिहा हुन पाउनेछन्। खत्री ३८ सय किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा छन् भने भुसालले अदालतबाट भर्खरै भ्याद बुझेका छन्।
गत वर्ष भएको साढे ३३ किलो सुन तस्करीको मुद्दामा पक्राउ परेका भुसाललाई गत वर्ष कात्तिक २३ गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो। ‘मोस्ट वान्टेड’ अभियुक्तका रुपमा फरार रहेका भुसाल यूएई रहेको अवस्थामा उनी विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराइएको थियो। काठमाडौं आए लगत्तै उनलाई प्रहरीको इन्टरपोल शाखाले नियन्त्रणमा लिई कात्तिक पहिलो साता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा बुझाएको थियो।
हाइप्रोफाइल घटनामा संलग्न ती अभियुक्त पक्राउ परेको घटना सिआइबीले गोप्य राखेको थियो। ठूलै पहुँच भएका भुसाल अदालतमा उपस्थित गराइएकै दिन धरौटीमा छुटेका थिए।
यस लगत्तै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। सुन तस्करी र संगठित अपराधमा मुख्य अभियुक्त रहेको व्यक्ति जिल्ला अदालतबाट धरौटीमा रिहा हुन नसक्ने जिकिर गर्दै सरकारी पक्षले २०७४ मंसिर १२ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले जिल्ला अदालतको आदेश झिकाउने आदेश गरेको थियो।
सरकारी पक्षले सुन ओसारपसारमा संलग्न भरियाहरु पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मुख्य अभियुक्त धरौटीमा रिहा हुन नसक्ने दाबी निवेदनमा गरेको छ। सरकारी वकिलको निवेदनमा मुख्य अभियुक्त अन्य देशमा भाग्ने खतरा भएकाले थुनामै राखेर मुद्दाको किनारा गर्नुपर्ने माग गरिएको छ।
भुसाल गत वर्ष भएको साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके भनी सिआइबीले नाम सार्वजनिक गरेको थियो। भुसाल र हरि खड्का नै उक्त सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो।
सिआइबीले गत वर्ष २१ पुसमा त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो। सुनसहित प्रहरीले तस्करीमा भरियाका रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो।
विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री समेत पक्राउ परेका थिए। यस्तै, भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए।
सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये तस्करीका नाइके भनेर प्रहरीले मुद्दा चलाएका भुसालसहित अधिकांश धरौटीमा छुटेका थिए भने भरियाका रुपमा काम गर्नेहरु जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।