अवैध कामदारमाथि मलेसियन सरकार आक्रामक, १ सय २५ नेपालीलाई स्वदेश फर्काइँदै

Nepal Live

काठमाडौं– मलेसियामा गैरकानुनी रुपमा बसिरहेका मध्ये १ सय २५ जनालाई नेपाल फर्काइने भएको छ।

मलेसियन सरकारले गैरकानुनी रुपमा लुकेर काम गरिरहेका आप्रवासी कामदारमाथि आइतबारदेखि धरपकड सुरु गरेको थियो। सो क्रममा पक्राउ परेका नेपालीलाई त्यहाँस्थति नेपाली दूतावासले फर्काउने तयारी गरेको हो। अन्य नेपालीहरु सम्पर्कमा आइरहेको र अवैध रुपमा बसेकाहरुलाई नेपाल फर्काइने दूतावास कार्यालयले जनाएको छ। 

आइतबार र सोमबार ३ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका थिए।

मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको मलेसियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा पनि धरपकड गरिएको थियो।
तर त्यस क्रममा कति नेपाली पक्राउ परे भन्ने खुल्न सकेको छैन। 

मलेसिया सरकारले गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कन आगामी अगस्टसम्मको समय दिएको छ। यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जून ३० सम्मको समयावधि दिइएको थियो। उक्त प्रक्रियामा सहभागी नभएर लुकिरहेका कामदार पक्राउ गर्न सरकारले विशेष अभियान चलाएको हो। 

गएको तीन वर्षभित्र मलेसिया सरकारले विदेशी कामदारमाथि ४ पटकभन्दा बढी धरपकड गरिसकेको छ। त्यस आममाफी प्रक्रियामा सहभागी भएर ३० हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। 

मलेसियामा करिब १ लाख नेपालीले गैरकानुनी रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार