काठमाडौं– बुधबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक सकिएको छ। बैठकले बिहीबार बस्ने स्थायी समितिका लागि दुईवटा एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'भोलिको स्थायी समितिको बैठकको कार्यसूची तयार गर्न बैठक बसको थियो', श्रेष्ठले भने, 'भोलिको स्थायी समिति बैठकमा दुवै पार्टी अध्यक्षले रिपोर्टिङ गर्नुहुन्छ।'
'प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, अहिलेको राजनीतिक विकासक्रम, सरकारका कामहरु र पार्टीको सांगठनिक एकताको सन्दर्भमा रिपोर्टिङ एउटा एजेन्डा हुने छ', श्रेष्ठले भने, 'पार्टी संगठनको प्रस्तावित नियमावलीमा छलफल गरेर स्थायी समितिको सुझाब अर्को एजेन्डा हुने छ।'
स्थायी समिति बैठक बिहीबार दिउँसो ३ बजे बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।