इटहरी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजको पुलमा परेका ठूलठूला खाल्डाले सवारी साधन आवत जावतमा समस्या पार्न थालेको छ। खाल्डामा चिप्लिएर गत असार ६ मा हेटौंडाबाट बिराटनगर आउँदै गरेको स्काभेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो। दुर्घटनामा २ जनाको मृत्यु भयो भने, ७ जना घाइते भए।
पुलभरि बनेका खाल्डाका कारण साना–ठूला दुर्घटना भइरहेका हुन्छन्। समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिम मोलेर सवारी साधन आवागमन भइरहेको छ।
यात्रुबाहक बस चालक स्थानीय समीर खानका अनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन। खाल्डाखुल्डीले बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन्।
पुलको समय–समयमा मर्मत नहुँदा समस्या आएको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली। खाल्डाको बीचमा चक्का नै फस्ने गरेको उनको अनुभव छ। कोसी ब्यारेजको मर्मतको जिम्मेवारी नेपाल पक्षको नभई भारतीय पक्षको भएकाले बेवास्ता भएको उनको बुझाइ छ।
कोसी ब्यारेजको मर्मत सम्भारको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएकाले नेपाल सरकारले केही गर्न नसक्ने बताउँछन् सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख जितेन्द्र चौधरी। उनका अनुसार पुलको पूर्वी भागको मर्मत नेपाल पक्षले गरिरहेको तर पुलको बीच भागबाट जमेको पानी निकास हुने कुनै माध्यम नभएका कारण चाँडै सडक भत्कने गरेको उनको भनाइ छ।
भारतीय सिमानादेखि एक किलोमिटर उत्तरमा पर्ने कोसी ब्यारेजको सम्पूर्ण जिम्मा भारतीय पक्षको हो।
भारतीय पक्षका सहायक इन्जिनियर लाल दास भने सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढिरहेको दाबी गर्छन्। कोसी ब्यारेजभित्र २० किलो प्रतिघन्टाका दरले सवारी चलाउनुपर्ने भए पनि तीव्र गतिमा सवारी चलाउने गर्दा बेला–बेला दुर्घटना हुने गरेको उनको भनाइ छ।
सडक मर्मतका लागि भारतका विभिन्न कम्पनीबीच टेन्डर आह्वान भएकाले अगामी २ महिनामा टेन्डर लागिसक्ने र ६ महिनाभित्र सडक मर्मत भइसक्ने दासले जानकारी दिए।
तर, मर्मत कार्यमा भएको ढिलाइले बर्खायाममा खाल्डामा पानी जम्ने र तीव्र गतिमा गुडेका गाडी दुर्घटना पर्नसक्ने सम्भावना बढ्दो छ।
सन् १९६२ मा बनेको कोसी ब्यारेजको आयु ५० वर्षको मात्र हो। ब्यारेजको म्याद सकिएको ६ वर्ष बितिसकेको छ । ब्यारेजको आयु लम्बिँदै जाँदा पानीको बहाब सहन क्षमता समेत कमजोर बन्दै गएको सहायक इन्जिनियर दासको भनाइ छ।
२०६५ भदौ २ मा कोसीको बाँध फुट्दा नेपालतिर हजारौं हेक्टर जग्गा बगरमा परिणत हुनुका साथै हजारौं मानिस बिस्थापित भएका थिए। कोसी बाँध भत्किँदाको त्रासदि व्यहोरेका सुनसरी र कोसी प्रभावित सप्तरीका बासिन्दा ब्यारेजको समयमै मर्मत नहुँदा अर्को खतरा आउने हो कि भन्ने डरमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।