सुर्खेत– मंगलबार सुर्खेत बसपार्कबाट घर जान बस चढ्दै गर्दा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ६ जुविथाका पवन कार्की चिन्तित देखिन्थे। आइतबारदेखि निरन्तर परिरहेको झरीका कारण पहिरोले सडक अवरुद्ध भई बाटोमै अलपत्र परिएला कि भनेर उनी पिरोलिएका थिए।
कार्कीले वर्षातको समयमा यात्रा गर्दा हरेक वर्ष कर्णाली राजमार्गमा सास्ती खेप्दै आएका छन्। वर्षातको समयमा यो राजमार्गको दर्जनौं ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको छ। पहिरोका कारण राजमार्ग छिचोल्नै सास्ती हुने गरेको अनुभव उनीसँग छ।
‘हरेक वर्ष पहिरोले सडक अवरुद्ध पार्छ’, उनले भने, ‘हिजोदेखि नै कतिपय स्थानमा पहिरो गएको छ रे, थाहा छैन घरसम्म पुग्न कति दुःख झेल्नुपर्ने हो।’
वर्षातसँगै कर्णाली राजमार्गमा जाने पहिरोले यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गर्छ।
सडक सञ्चालनमा आएको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्ग ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको यात्रुहरु बताउँछन्। दैनिक रुपमा सयौं सवारीसाधन सञ्चालन हुने यस राजमार्गमा वर्षातको समय सुरु भएसँगै कतिखेर गाडीमाथि पहिरो खस्छ भन्ने चिन्ताले यात्रु तथा सवारी चालकलाई पिरोल्ने गर्छ। यही जोखिमका कारण यो राजमार्ग 'मृत्यु-मार्ग' का नामले बदनाम पनि छ।
राजमार्गमा पहिरोको सास्तीले स्थानीय यात्रुका साथै यस क्षेत्रको चर्चित पर्यटकीय स्थल रारा लगायतका क्षेत्र घुम्न आउने पर्यटकहरुले पनि समस्या खेप्ने गरेका छन्।
पहिरोको सिलसिला
आइतबार रातिदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएर कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अन्तर्गतको कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
गगने खोला त्यस्तो ठाउँ हो, जहाँ हरेक वर्ष पहिरो जाने गर्छ। गगने खोलाका साथै एसमोड, सुनार खोला, दहीखोला, घट्टेखोला, कालेखोला, राँचुलीमा वर्षायाममा बर्सेनि पहिरो जाने गरेको छ। यी बाहेक पनि फरक–फरक ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरु बताउँछन्।
गगने खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी खटिएका छन्। राजमार्गमा नियमितजसो पहिरो जाने भएकाले पहिरो पन्छाउन तयार भएर बस्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारी बताउँछन्।
केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भए पनि पछिल्लो दुई वर्षयता नयाँ–नयाँ ठाउँमा पहिरो खस्न थालेको अधिकारीले बताए। कमजोर भौगोलिक बनावटका साथै सडक निर्माणका बेला ठूला पहरा फुटाउन ‘ब्लास्टिङ’ गराइएका कारण नयाँ ठाउँमा पहिरो गएर सडक हप्तौं अवरुद्ध हुने गरेको उनी बताउँछन्।
स्तरोन्नतिमा बेवास्ता
राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रुपमा निर्माण गरेयता स्तरोन्नतिमा ध्यान नदिएको गुनासो कर्णालीवासीको छ।
‘सडक साँघुरो छ, त्यसमाथि बर्सेनि पहिरो गएर यात्रा सास्तीपूर्ण हुने गरेको छ’, कालिकोटका कविराज नेपालीले भने, ‘पहिरो जाँदा राजमार्ग हप्तौंसम्म अवरुद्ध हुँदा पनि वास्ता हुँदैन।
प्रत्येक वर्ष विकास–निर्माणका नाममा करोडौं खर्च गरे पनि कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनले बताए।
विगत केही वर्षयता सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गर्दै आएको छ। तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिने बाहेक प्रभावकारी काम हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।