काठमाडौं– पूर्वप्रधानन्याधीश सुशीला कार्कीले चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि डा केसीको लडाइँ सही रहेको बताएकी छिन्।
सन्तानविहीन डा केसी गरिबलाई उपचार र उनीहरुका सन्तति पनि डाक्टर बन्न पाउनुपर्ने अधिकारका लागि लडिरहेको स्मरण गराउँदै उनका माग पूरा गर्न कार्कीले आग्रह गरिन्। राजधानीमा डा गोविन्द केसी र गंगामाया अधिकारीको अनसनका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले सडकमा हुँदा गरिबको पक्ष लिने र सरकारमा आउँदा सामन्त व्यापारीलाई सहयोग गर्ने प्रवृत्ति देखिएको आरोप लगाइन्। उनले सरकारलाई प्रश्न गरिन्, ‘के तपाईं पनि सामन्त हो?’
चिकित्सा शिक्षामा चरम व्यापारीकरणका कारण आफूले समेत सन्तानलाई चिकित्सा पढाउन नसकेको उनले खुलाइन्। कार्यक्रममा बोल्दै उनले भनिन्, ‘चिकित्सा शिक्षा यति महँगो भयो कि मैले सन्तानलाई पढाउन सकिनँ।’
एक विद्यार्थीले चिकित्सा पढ्ने सबै योग्यता पूरा गर्दा पनि पढ्न नपाएको मुद्दा आफू न्यायाधीश हुँद हेरेको उनले स्मरण गरिन्। ‘तीनपल्ट नाम निकाल्दा पनि पढ्न नदिएपछि मुद्दा हालेकी रहिछन्। उनले अब पनि पढ्न नपाए आफू आत्महत्या गर्ने अदालतमै बताइन्,’ उनले भनिन्।
चिकित्सा विषय महँगोमा पढ्ने भए पनि त्यो अनुसारको अवसर नभएको उनले टिप्पणी गरिन्। आफ्नै छिमेकीले वर्षौंसम्म एकजोर सुटसमेत नफेरेर सन्तानलाई चिकित्सा पढाएको तर पढेपछि २० हजार रुपैयाँको जागिर पाएको तथ्य उल्लेख गरिन्।
गंगामाया न्यायकी देवी
अनसनरत गंगामाया अधिकारीलाई उनले न्यायकी देवीको उपमा दिइन्। छोरो र श्रीमान् गुमाएकी उनी अहिले न्याय जीवित राख्न लडिरहेको उनको बुझाइ छ। भनिन्, ‘अदालतले दोषी ठहर गरेकालाई कारबाही गरिपाऊँ भनिरहेकी छिन्। उनको कुरा सुनिएको छैन। उनीप्रतिको उपेक्षा इतिहासमा कलंक भएर रहनेछ।’
सरकारबाहिर रहँदा स्वतन्त्र न्यायलयको अपेक्षा गर्ने नेताहरुले सरकारमा पुगेपछि बिर्सिने गरेको तथ्य कार्कीले अघि सारिन्। भनिन्, ‘सडकमा हुँदा आन्दोलन गर्नुपर्छ, जेल परिन्छ। उनीहरुलाई छुटाउन स्वतन्त्र न्यायलय चाहिन्छ। सरकारमा पुगेपछि आश्रित न्यायलयको अभ्यास हुन्छ।’
सरकारमा रहँदा केही नबोलेका कांग्रेसका नेताहरु गंगामायालाई भेट्न गएको प्रति भने उनले कटाक्ष गरिन्। सरकारबाट बाहिरिएपछि न्याय जरुरी लागेको भन्दै प्रश्न गरिन्, ‘कांग्रेसको सरकार हुँदा उनीहरु गंगामाया भेट्न किन गएनन्?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।