राप्रपा एकताअघि सिद्धान्तमा स्पष्टता जरुरी

 सिद्धार्थ थापा

Nepal Live

राप्रपा फुट्नु हुँदैनथ्यो तर फुटको कारण भने थियो। हामीले राप्रपा र राप्रपा नेपालको एकता गर्दा नै हतारहतारमा गरेका थियौं। त्यतिबेला यी दुई पार्टीको संसदमा जुन संख्या थियो, त्यसलाई ठूलो बनाएर हामी शक्ति खेलमा रमाउनका लागि पार्टी एकता गरियो। एकताका बेला सैद्धान्तिक विषयहरुमा दिगो समझदारी भएको थिएन। त्यही समझदारी र प्रष्ट नभएको सैद्धान्तिक विषयले जब अप्ठ्यारो पर्दै गयो, त्यतिबेला पार्टी फुट्यो। सैद्धान्तिक स्पष्टता भइदिएको भए सायद पार्टी फुट्ने थिएन।

अहिले फेरि दुवै पक्षमा पार्टी मिल्नुपर्छ भन्ने दबाब छ। मिल्नु पनि पर्छ। मिल्नुपर्छ भनेर दुइटै पार्टीबाट कार्यदल पनि बनेको छ। अब एकताका लागि सैद्धान्तिक पक्षमा पनि एकता हुनुपर्छ। त्यसमा स्पष्टता एकता पूर्व नै हुनुपर्छ। स्पष्ट भएन भने पार्टी एकता पनि हुँदैन। भयो भने पनि लामो समय टिक्न सक्दैन। जनताले पनि हामीलाई विश्वास गर्दैनन्।

मेरो हजुरबुबा सूर्यबहादुर थापाले भनेको एउटा कुरा यहाँ सान्दर्भिक हुन सक्ला। उहाँले एकपटक भन्नुभएको थियो– पार्टी एकता भयो भने कमल थापा पनि सकिन्छन्, हामी पनि सकिन्छौं। किन त? किनभने, राजावादी भनेर कमल थापालाई पनि विश्वास गर्दैनन्, गणतन्त्रवादी भनेर हामीलाई पनि विश्वास गर्दैनन्।

सैद्धान्तिक विषयमा मेरो केही स्पष्ट धारणा छन्। यो संविधान विगतको लामो समयदेखिको संघर्षको प्रतिफल हो। त्यसैअनुसार गणतान्त्रिक संविधान बनेको हो। त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ। जनताको बीचमा जाँदा जे कुरा सम्भव छ, त्यही मात्रै भन्नुपर्छ। अहिलेको अवस्थामा नेपालमा राजसंस्था पुनर्स्थापित हुँदैन। हामी मिले पनि ४ देखि ६ प्रतिशत मत मात्रै छ। हाम्रो यो मतले राजसंस्था फर्किंदैन।

राजाले नै जनताको मतलाई स्वीकार गरेर दरबार छाडेर हिँडेका हुन्। हामीले नै नयाँ संविधान अनुरुप बनेको सरकारमा गएर गणतान्त्रिक संविधानको पक्षमा विभिन्न देशमा पुगेर बोलेका छौं। राप्रपा नेपालको तर्फबाट कमल थापा परराष्ट्रमन्त्री हुँदा धेरै देशमा गएर अहिलेको संविधानको पक्षमा बोलेका छन्। त्यसको अर्थ उनले संविधानको एउटा प्रमुख व्यवस्था गणतन्त्रको पक्षमा पनि बोलेका हुन् भन्ने लाग्छ। त्यसैले अप्रत्यक्ष रुपमा उनले पनि गणतन्त्र स्वीकार गरिसकेका छन्। त्यसैले अब उनले मात्रै होइन, सकैले पनि पछि फर्किने सोच्नुहुँदैन।

त्यस्तै, संघीय शासन प्रणाली सुरु भएको छ। यो उपलब्धिलाई पनि स्वीकार गरेर जानुपर्छ। धर्मको विषयमा मेरो अलिकति फरक धारणा छ। यसमा कहिल्यै पनि भोटिङ भएन। त्यसमा जनमत संग्रह हुनुपर्छ। नेपालमा हिन्दु धर्म र राजालाई मिसाएर धारणा बनाइयो। जबकि, यी दुवै विषय फरकफरक हुन्। हिन्दु धर्म मान्नेले राजा नचाहिरहेको पनि हुन सक्छ। वा, राजा चाहिन्छ भन्नेले हिन्दु धर्म नमानिरहेको पनि हुन सक्छ। यस्ता फरक विषयलाई एकै ठाउँमा मिसाएर भ्रम सिर्जना गर्नुहुँदैन।

राप्रपा विधिको शासन, उदार लोकतन्त्र र खुला अर्थतन्त्रमा विश्वास गर्ने पार्टी बन्नुपर्छ। बजारलाई खुला छाडिदिनुपर्छ। सरकारको काम 'रेगुलेसन' गर्ने मात्रै हुनुपर्छ। अहिले समाजका हरेक समस्यामा सरकारबाटै समाधानको खोजी भइरहेको छ। राप्रपाले त्यो समस्या निजी क्षेत्रको प्रतिस्पर्धामा मात्र समाधान हुन्छ भन्नेमा स्पष्ट हुनुपर्छ। 

त्यस्तै राप्रपाको केही बिम्बहरुमा पनि परिवर्तन ल्याउन जरुरी छ। पञ्चायतकालका वरिपरि रहेका, परम्परावादी, दक्षिणपन्थी आदि यसका बिम्बहरु छन्। त्यसमा परिवर्तन ल्याउनुपर्छ। हामी परिस्थिति अनुसार चल्नुपर्छ। पहिला एकताको लागि सैद्धान्तिक विषयमा प्रस्टता ल्याउनुपर्छ। जसले हाम्रो मतदातालाई हामी कुन एजेन्डामा राजनीति गरिरहेका छौं भन्ने प्रस्ट  पार्छ। जनता प्रष्ट हुन नसके भोट दिँदैनन्।

जनताके मन जित्न राप्रपा अन्य पार्टीभन्दा फरक हुनुपर्छ। पुजीवादी शक्तिका लागि नेपालमा ठूलो ठाउँ खालि छ। त्यो ठाउँको पूर्ति राप्रपाले गर्न सक्नुपर्छ। त्यसपछि राप्रपा निजी क्षेत्रलाई सुरक्षा र वकालत गर्ने शक्ति बन्नेछ।

यसैअनुसार राप्रपाको बिम्ब परिवर्तन हुँदै जाने छ भन्ने मलाई विश्वास छ। यसैअनुसार नयाँ पुस्ताको रुचि पनि राप्रपाप्रति बढ्दै जाने छ। र अहिले चर्चामा रहेको पार्टी एकताको मुख्य आधार पनि यही हो।

अब चार-पाँच वर्षपछिको चुनावलाई पनि मध्यनजर गरेर राप्रपाले बाटोहरु स्पष्ट पार्नुपर्नेछ। चार-पाँच वर्ष भनेको ठूलो समय हो। अहिले तीन तहमा बजेट गएको छ। त्यहाँ भएका भ्रष्टाचारको खबर आउन थालिसकेको छ। त्यसलाई हामीले एजेन्डा बनाएर अघि बढ्न सक्छौं। केन्द्रदेखि स्थानीय सरकारसम्मै हामी सक्षम प्रतिपक्ष भएर उभिन सक्यौं भने हामीले विश्वास जित्दै जानेछौं। हाम्रो पनि पुनरोदय सम्भव छ।
यति काम गर्न हामी सक्षम छौं। किनकि, अहिले सबैले चुनाव हारेको अवस्था छ। र, कुर्सीको खेलमा कोही पनि छैन। त्यसैले पार्टी मिलाउने, संघर्ष गर्ने र जनतामा गएर विश्वास जित्ने बाहेक अरु विकल्प नै छैन।

अब अहिले हामीले बनाउने राप्रपा नामको बलियो घर हो। त्यो घरको छानो गणतन्त्र हुनुपर्योह, उदारवादी लोकतन्त्रको आधारहरु खम्बा बन्नुपर्छ।

अहिले राजनीतिमा विभिन्न एलायन्सहरु बनिरहेका छन्। त्यसै अनुसार, प्रगतिशील लोकतान्त्रिक एलायन्स पनि आवश्यकता म देख्छु। म कांग्रेस र राजपासँग हाम्रो कुरा मिल्ने देख्छु। त्यसैले हामी उहाँहरुसँग मोर्चाबन्दी गर्न तयार हुनुपर्छ।

तर हामी जस्तोसुकै परिस्थितिमा पनि लोकतन्त्रकै पक्षमा उभिनुपर्छ। संविधानमा मार्फत आएका परिवर्तनका पक्षमा उभिनुपर्छ। अब देशमा समस्याहरु आयो भने त्यसको उपचार पनि यही संविधान नै हो। राजा वा पुरानो संरचना होइन। एकता भए पनि नभए पनि राप्रपा धारले यो कुरा बुझ्नुपर्छ।

(राप्रपा प्रजातान्त्रिकका नेता थापासँग कुराकानीमा आधारित)

प्राप्त प्रतिकृयाहरू

Sima
Nice article

Kapil Ranabhat
विचार मन पर्यो

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार