काठमाडौं– सुन तस्करीमा संलग्न केही ठूला तस्कर तथा सहयोग गर्ने प्रहरीलाई नै पक्राउ गरेर अनुसन्धान भइरहँदा पनि तस्करी भने रोकिएको छैन। प्रहरीले पछिल्लो एक महिनामा तीन पटक तस्करीको सुन बरामद गरेको छ। जसले अझै नेपालबाट भारततर्फ ठूलो मात्रामा सुन तस्करी भइरहेको प्रस्ट भएको छ।
शनिबार मात्र प्रहरीले नागढुंगामा ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो। भारतीय नागरिकहरु अशोकलाल शाह, चन्द्रमोहन जोशी, दीपककुमार मोर्रेे र नेपालीहरु सम्झना शाह र मनोज विक पक्राउ परेका हुन्।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले भारतीय नम्बर प्लेट (यूके ०२३६८४ नम्बर)को मारुती कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन बरामद भएको हो। कारको एयरफिल्टरमा लुकाएर भारततर्फ सुन तस्करी गर्न लागिएको थियो। कारका चालक भारतीय नागरिक मुर्रे र नेपाली युवक मनोज विकलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा थप तीन जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
अशोकलाल र चन्द्रमोहन पछिल्लो ३ महिनामा ४ पटक काठमाडौं आएको खुलेको छ। यसअघि पनि उनीहरु सुन तस्करीकै लागि काठमाडौं आउने गरेको प्रहरीको आशंका छ।
गत असार १४ गते जिल्ला प्रहरी कार्यालय पर्साले एक किलो सुन बरामद गरेको थियो। मोटरसाइकलको सिटमुनि लुकाएर भारतमा सुन तस्करी गर्न खोज्ने सन्तोषकुमार साहलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यस्तै, महेन्द्रनगरको गड्डाचौकी नाकामा गत जेठ १ गते भारतीय नम्बर प्लेटको गाडीमा आधा किलो सुन बरामद भएको थियो। उक्त सुन पनि काठमाडौंबाट भारत लैजान लागिएको थियो।
यी तीन घटनाले नेपालबाट ठूलो मात्रामा सुन तस्करी भइरहेको संकेत मिलेको प्रहरी अधिकारीहरुले बताएका छन्। तर, बरामद सुन नेपालमा कसरी तस्करी भएको थियो भन्ने खुल्न सकेको छैन।
पछिल्लो समय विमानस्थलको सुरक्षामा कडाइ गरिएसँगै रसुवा नाका हुँदै चीनबाट सुन तस्करी हुने गरेको आशंका गरिएको छ।
केही समूहले गोरखाको नाकाबाट समेत तस्करी गरेको सुन पनि बरामद भएको थियो।
सरकारले सुन तस्करीको अनुसन्धानमा विशेष टोली बनाएर छानबिन गरिरहेको छ। टोलीले सुन तस्करीमा संलग्न ठूला व्यापारी तथा उनीहरुलाई सहयोग गर्ने प्रहरीलाई नै पक्राउ गरी मुद्दा चलाएको छ। तर, अन्य समूहहरुले तस्करीलाई निरन्तरता दिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री चीनबाट सडकमार्ग हुँदै थोरै सुन तस्करी भइरहेको हुनसक्ने बताउँछन्।
‘विगतमा जस्तो ठूलो परिमाणमा अहिले तस्करी भएको छैन’, उनी भन्छन्,‘थोरै परिमाणमा हुने तस्करी पनि नियन्त्रण गर्न प्रहरी सक्रिय छ।’
सुन तस्करीमा हुने अत्यधिक नाफा र नाकाको कमजोर चेकिङ प्रणालीका कारण तस्करी रोक्न नसकिएको एक प्रहरी अधिकारी बताउँछन्। एक किलो सुनमा ५ लाख रुपैयाँसम्म नाफा हुने र हुन्डीको कारोबार गर्न पनि सजिलो हुने भएकाले नेपालबाट भारतमा सुन तस्करी हुने गरेको छ।
विमानस्थलबाट पछिल्लो ५ वर्षमा भित्रिएको करिब ३८ सय केजी सुनमध्ये ८० प्रतिशतभन्दा धेरै भारत लगिएको खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।