काठमाडौैं– शनिबार प्रहरीले नागढुंगामा बरामद गरेको ३ किलो सुनका मालिकहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिलासहति तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु अशोक लाल शाह र चन्द्रमोहन जोशी छन्। उनीहरुले नै सो सुन गाडीमा भारततर्फ पठाउने क्रममा नागढुंगामा बरामद भएको हो। प्रहरीले शाहकी एक महिला साथीलाई पनि पक्राउ गरेको छ। महेन्द्रनगर घर भएकी ती महिलाको तस्करीमा संलग्नता भए नभएको खुलेको छैन।
सरकारले बिशेष टोली बनाएर सुन तस्करीको अनुसन्धान भइरहेको समयमा पनि सुन तस्करी भने जारी नै छ। भारततर्फ सुन तस्करीको प्रयास हुँदै गर्दा प्रहरीले शनिबार नागढुंगामा ३ किलो सुन बरामद गरेको छ।
भारतीय नम्बर प्लेट(यूके ०२३६८४ नम्बर)को मारुती कारबाट शनिबार सुन बरामद भएको हो। कारको एयर फिल्टरमा लुकाएर तस्करी गर्ने क्रममा सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
प्रहरीले चालक भारतीय नागरिक दिमक कुमार मोर्रे र महेन्द्रनगरका मनोज बिकलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा सो सुन काठमाडौंबाट भारततर्फ तस्करीको प्रयास भएको खुलेको एसएसपी पोखरेलले बताए।
सोहीअनुसार अनुसन्धान गर्ने क्रममा जमलको यल्लो पेगेडा होटलबाट मालिकहरु पक्राउ परेका हुन्। उनीहरुले पटक पटक नेपालबाट भारतमा सुन तस्करी गरेको खुलेको छ।
सो सुन कहाँबाट नेपालमा तस्करी थियो र उनीहरुले कसरी किने भन्ने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।