नेपालमा रेल आउँछ, आफ्नो रेल आउँछ। आफ्नै रेल कुद्छ। मैले पहिलेपहिले पनि भनेको थिएँ। केही मान्छे अनौठो मान्छन्, केही मान्छे राम्रो कुरासँग पनि झस्किन्छन्। यो रेलसँग झस्किनेको मैले केही कुरा बुझेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा को उड्छ नेपालमा, यो गरिब देशमा किन चाहियो पनि भनिन्थ्यो? अहिले सानो भएर हैरान छ। अन्य भागमा हामी बनाउँदैछौं। कोदारी राजमार्ग बन्दा उधुम भएको थियो। महेन्द्रले जवाफ दिँदा हैरान भएका थिए। रेल चढेर र गाडी चढेर कम्युनिष्ट आउने होइन। मोटर चढेर आएन। प्रतिबन्धित यहीँ थिए, उताबाट आउने होइन।
माथिरले मलेसियामा ट्वीन टावर बनाउँदा पैसाको दुरुपयोग भएको आरोप लागेको थियो, अहिले त्यो व्यापारिक भवन भएको छ।
मलेसियामा गेन्टिङ आइल्यान्ड भन्ने छ। त्यहाँ सहरभन्दा धेरै पैसा हालेर रुखो पहाड एउटा व्यापारीले किन्दा आलोचना भएको थियो। अहिले त्यो रमणीय पिकनिक स्पट भएको छ।
६ लेनको ४ लेखनको बाटो बनाउने भन्दा एकथरी महत्व नबुझेर यति ठूलो किन चाहियो भन्छ पछि त्यही सानो हुन्छ। केही नबुझेर पनि विरोध गर्छन्।
त्रिचन्द्र बनाउँदा चन्द्र शमशेरले आफ्नै खुट्टामा बञ्चरो हानेँ भनेका थिए। त्यो बुझेर यसो भनिएको थियो। विद्वान् मित्रहरुको विरोध त्रिचन्द्र कलेज नबुझे जस्तो हो कि गेन्टिङ आइल्यान्ड नबुझे जस्तो? मैले मेलो नपाएको कुरा यही हो।
योजना आयोग, पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग खारेज गर्नुपर्छ भन्ने कुरा आवेग वा उत्तेजनामा गरेर हुँदैन। स्थानीय निकायले गरिहाल्छ भनेर सोच्नु हुन्न। के गाविस अध्यक्ष पुरातत्वविद् हुन्छ कि उपाध्यक्ष पुरातत्वविद् हुन्छ? यसको काम कसले गर्ने हो, विज्ञता चाहिन्छ। देशभित्रका र विदेशका पुरातत्वको अध्ययन र अनुसन्धान गर्न आवश्यक हुन्छ।
नेपाल कृषिमा पछाडि परेको भनेर सरकारले गरेको भनी आलोचना गर्नु जरुरी छैन। यो सरकारले चार महिनामा पछाडि पारेको हो र? मैले पछाडि परेको कुरा स्वीकार गरेको छु, अब अगाडि बढाइन्छ भनेकै छु। अब विरोध किन खुसी हुनुपर्ने ठाउँमा! महिला हिंसा, मानव बेचबिखन लगायत अन्यमा सरकार शून्य सहनशील नीतिमा छ।
कतिपय देशमा महिला जान रोक लगाएको छ। फेरी लैङ्गिकमैत्री नीतिको सन्तुलन र अधिकार दिने कुरामा सरकार चनाखो हुन जरुरी छ।
कर्मचारी खटाउन असफल होइन अहिलेको सरकार सफल छ। अहिलेको सरकार कुनै पनि क्षेत्रमा असफल हुन जान्दैन र मान्दैन। कानुन बमोजिम चल्छ र चलाउँछ। भूकम्पपीडितको पुनर्निर्माणमा पहिले गति थिएन अहिले अगाडि बढेको छ। अब ६५ वर्षभन्दा माथिका वृद्धका लागि सरकारले निर्णय नगरीकनै पत्रपत्रिकामा प्रचार गरियो। सरकार निर्णय कार्यान्वयन गर्ने हो निर्णय नै नगरेको कुरा कसरी कार्यान्वयन गर्ने हो र?
निशेषित क्षेत्रमा अभिव्यक्ति र वाक् स्वतन्त्रता रोक्ने कुरा गरिएको होइन। अधिकारको प्रयोग विधि र कानुन समुचित रुपमा हुनुपर्दछ। भारतमा जानुभयो भने देख्नुहुन्छ कहाँकहाँ अनसन बस्न पाइन्छ? तोकेको छ। प्रधानमन्त्री कार्यालय अगाडि, राष्ट्रपति निवासअगाडि कहिले पनि विरोध प्रदर्शन गरेको देख्नुभएको छ? तर जन्तरमन्तरमा जानुस् त सधैं विरोध प्रदर्शन भइरहेको हुन्छ।
दुनियाँलाई दु:ख दिँदा विरोध हुने र नदिँदा नहुने होइन। तानाशाही ढाल्न जनता दरबारभित्र पनि पस्छन् तर लोकतन्त्रमा त्यस्तो हुँदैन। जतिबेला नेताहरुलाई निर्वासन गरिन्छ, प्रधानमन्त्रीलाई जेलमा हालिन्छ अनि विरोध सुरु हुन्छ। त्यो बेला र अहिलेलाई मिसाउन मिल्दैन। वाक् स्वतन्त्राका हकमा नियन्त्रण हुँदैन तर तिथिथिति अन्तर्गत हुनुपर्दछ।
अस्पतालभित्र नाराजुलुस, तोडफोड भइरहेका छन्। उपचार हुने ठाउँमा हड्ताल, विद्यालय अगाडि टियर ग्यास, यो चल्दैन। हिजो पनि हामीले यो गरेको होइन। हिजो लखेटेको थियो आज आरामसाथ गर्नुस् भनी तोकिदिएको हो। विरोध प्रकट गर्न दिनुपर्छ। सरकारले कान आँखा खोलेर हेर्न र सुन्न पर्दछ तर जे भए पनि लाचार छायाँ भएर सरकार बस्न सक्दैन। आफ्नो अधिकार प्रयोग गर्दा अर्कालाई बाधा गर्न पाइँदैन।
थिति हामीले बाँध्दै लानुपर्दछ। सरकार पनि आफ्नो पनि थितिमा बस्नुपर्छ। मन्त्री पनि थितिमा बस्नुपर्छ। बेलगाम कोही पनि बस्नु हुँदैन। हामीले बनाएका कानुन सबैलाई लागू हुनु पर्दछ। विकास हामी सबैको साझा हो यसमा अवरोध हुनु हुँदैन। अधिकार हामीले लडेर ल्याएको प्रिय वस्तु हो यसमा अवरोध हुनु हुँदैन। अधिकारको प्रयोगका नाममा यो वा त्यो प्रकारले हनन हुन सक्दैन।
जल्ले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं।
(प्रधानमन्त्री कार्यालयको बजेटमाथि शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।