जुम्ला– चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शनिबारबाट आमरण अनशन बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ।
डा केसीले अनशनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका हुन्। तर, डा केसीले अनशन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ।
यो पनि पढ्नुहोस्ः काठमाडौंमा थप मेडिकल कलेज खोल्न मिल्नेगरी चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित गराउने सरकारको तयारी
डा केसीको अनशन बिथोल्ने गरी प्रशासनले अनशन बस्ने अघिल्लो दिन शुक्रबार प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रालाई निषेधित क्षेत्र तोकेको हो। जिल्ला प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ। प्रशासनले जारी गरेको पत्र अनुसार प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ।
शुक्रबारदेखि जुम्लामा अनशन बस्ने घोषणा गरे पनि डा केसी शुक्रबार बेलुकी मात्र सदरमुकाम खलंगा पुगेकाले शनिबारदेखि अनशन बस्ने भएका हुन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।