बझाङ– गाउँपालिकाको बजेटमा भ्रष्टाचार गरेको भन्दै बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालो मोसो दलेका छन्।
गाउँपालिकामा सञ्चालन गरिएको कृषि कार्यालयको तालिम समापन कार्यक्रममा पुगेका अध्यक्ष कठायतलाई तालिम हलमै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो मोसो दलेको प्रहरी नायब उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए।
कँडेलका अनुसार कालो मोसो दल्ने कार्यमा संंलग्न विप्लव समूहका कार्यकर्तालाई प्रहरीले खोजी गरिरहेको छ। ‘हामी घटनामा संलग्न जोकोहीलाई पनि कुनै हालतमा छोड्ने छैनौं। जनप्रतिनिधिलाई कालो मोसो लगाउने अपराधीलाई खोज्न घटनास्थल वरपरका शंकास्पद स्थानहरुमा प्रहरी परिचालन गरिएको छ।’, प्रहरी नायब उपरिक्षक कँडेलले भने।
आफुलाई झुटो आरोप लागएको र चन्दा नदिएकाले प्रतिशोध लिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए।
जनताको नाममा आएको विकास बजेटबाट कमिसन खाएको, प्रशासनिक खर्च हिनामिना गरि तराईमा ४० लाख बराबरको घडेरी र जग्गा खरिद गरेकोले सामुहिक रुपमा सजाय दिएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य काल शाहीले जानकारी दिए।
विप्लव समुहका कार्यकताले ४ दिन अघि साइपाल गाउँपालिकाका नायब सुब्बालार्इ पनि भ्रष्टाचार गरेको आरोपमा कालो मोसो दलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।