इटहरी– ‘मानो रोपेर मुरी फलाउने’ महिनाले परिचित छ असार। त्यसमा पनि असार १५ लाई कृषकले पनि पर्वकै रूपमा लिने गर्दछन्। नेपाल सरकारले पनि असार १५ लाई धान दिवसको रूपमा मनाउन थालेको छ। सामान्यतयाः गाउँघरतिर किसानहरू धान रोप्न व्यस्त भइरहँदा कतिपय बजार क्षेत्रमा भने त्यसको कुनै छनकसम्म भेटिँदैन।
तर इटहरीमा भने आज फरक दृश्य देखियो। किसानझैँ इटहरी उपमहानगरपालिका–४ का बासिन्दा कुटो–कोदालो बोकेर घरबाट निस्किए। मुख्य सहरको बिचमा त्यो दृश्य फरक लाग्थ्यो। खासमा उनीहरू धान रोप्न नभई इटहरीको मुख्य बजार भएर बग्ने टेङ्ग्रा खोला किनारामा वृक्षारोपण गर्न पुगेका थिए।
इटहरीको ४ नम्बर वडाले अयोजना गरेको उक्त कार्यक्रममा आजै जन्मदिन भएका लतितबहादुर केसी (८६ वर्ष) र जनकप्रसाद भट्टराई (८० वर्ष) ले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुरु गरेका थिए। सो क्रममा ४ सय बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
‘मानो फलाएर मुरी उब्जाउने’ बेलामा बिरुवा रोप्नु कुनै अनौठो कुरा नभएको वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईले बताए। खोला किनारलाई सहरको प्रमुख पर्यटकीय क्षेत्र बनाउन लागिएकोले यसबाट यहाँका स्थानीयको गुजारा चल्ने हँुदा यो बिरुवा रोपेर पैसा कमाउने कामको सुरुवात भएको उनको तर्क थियो।
‘पहिला धान नै आयआर्जनको मुख्य श्रोत हुन्थ्यो तर अहिले त्यसमा विविधता थपीएको छ।’, उनले भने,‘पर्यटनलाई मुख्य आयश्रोतको क्षेत्र बनाउन सकिने भएकोले वृक्षारोपण मार्फत स्थानीयलाई जीविकोपार्जनमा टेवा पुग्ने देखिन्छ।’
त्यस्तै धान दिवसकै अवसरमा आज इटहरीमा राजनीतिक दल तथा विभिन्न संघ–संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।