काठमाडौं– नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) अन्तिम बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। बिहान १० बजेदेखि होटल अन्नपूर्णमा बैठक बसिरहेको हो।
सन् १९५० को नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धि परिमार्जन तथा दुई देशबीचका विभिन्न समस्या समाधानको सिफारीस गर्न गठन भएको इपिजीको यो नवौं तथा अन्तिम बैठक हो। तर, दुई पक्षबीच साझा सहमतिको प्रतिवेदन भन्ने वा नबन्ने भन्ने विषय स्पष्ट भइसकेको छैन। यद्यपि, ईपिजीको समयावधि यही २० गते सकिँदै छ।
यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भए पनि भारतकै आग्रहमा नेपालले मिति सारेर ईपीजीलाई दिइएको समयसीमाको अन्त्यतिर बैठक राखेको हो।
नेपाली सदस्यहरुले सहमति भएका र हुन बाँकी विषय समेटेर प्रतिवेदन तयार गरी भारतीय पक्षलाई पठाएको थियो।
नेपाल र भारतबीचका सम्बन्धलाई पुनरावलोकन गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा दुवै देशका सरकारलाई सुझाव दिने र सिफारिस गर्ने म्यान्डेट इपिजीलाई छ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमण (२०६८ कात्तिक ३–६) को बेलामा नेपाल भारत सम्बन्धको विविध आयामलाई समयानुकूल बनाउने र नयाँ तरिकाले परिभाषित गर्ने अभिप्रायले विज्ञ समूहको रायसुझाव लिएर सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो।
त्यस्तै ०७१ साउन १८–१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच इपिजी गठन गर्ने सहमति भएको थियो।
केपी शर्मा ओली पहिलोपटक भारत भ्रमण (०७२ फागुन ७–१२) का बेला इपिजी सदस्य घोषणा भएको थियो।
इपिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्व सांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद छन्।
बैठक नेपाल र भारतमा पालैपालो बस्दै आएको छ। इपिजीको पहिलो बैठक (०७३ असार २० र २१) को मितिले दुई वर्ष कार्यकाल रहने व्यवस्था छ। तर, अन्तिम बैठक बस्दासम्म साझा प्रतिवेदनको टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।