दैनिक लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय बजारमा अनेकखालका समाचार बाहिर आएका छन्। त्यसमा केही सत्यता छ भने केही अनर्गल प्रचार।
यिनै हल्लाकाबीच दूधको उपभोगमा कमी आएको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार अहिले दूधको बिक्री करिब चौथाईले घटेको छ। यसको अर्थ केही उपभोक्ताले दूध उपभोग गर्नै छाडेका छन् अर्थात् कमी ल्याएका छन्।
विरामी, बालबालिका, वृद्धवृद्धादेखि वयस्कसम्म दैनिक लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय 'कोलिफर्म' भेटिएको र युरियासमेत मिसाइएको भन्ने समाचारले बजारमा उपलब्ध प्रशोधित दूधप्रतिको जनविश्वास घटेको अवस्था छ। अर्कोतिर दूध उत्पादक किसान र उद्योगीको बजार पनि गुम्ने खतरा छ।
गत जेठ अन्तिम साता कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले गरेको बजार अनुगमनले नेपाली डेरी उद्योग आफ्ना उपभोक्ताप्रति संवेदनशील नभएको प्रस्ट देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परीक्षणले दूधमा न्यून गुणस्तरदेखि कोलिफर्मका जीवाणुसम्म फेला परेको देखाएको छ।
सरकारको अनुगमन र प्रयोगशाला परीक्षणका विषयलाई टिपेर अहिले बजारमा अनेक भ्रम फैलिएको छ। जसले उपभोक्तामाझ 'बजारमा उपलब्ध प्रशोधित दूध खानयोग्य छैन' भन्ने धारणा निर्माण भएको छ।
डेरी उद्योगहरूले दूध उत्पादनमा हेरचेक्र्याइँ गरेको बजार अनुगमनबाट प्रस्टै देखिन्छ। त्यसका लागि सम्बन्धित निकायले सुधारका उपाय र त्यो नभए कारबाहीको प्रक्रिया अपनाउन ढिलाइ गर्नु हुँदैन। तर, सत्य-तथ्य के हो भन्ने गहिरो अध्ययन नगरी चर्चाका लागि बजारमा पाइने सबै दूध खानै नहुनेगरी हानिकारक छ भन्ने शैलीमा प्रचार गर्नु पनि व्यावहारिक कुरा होइन।
विभागले दूधमा युरिया भेटिएको विषयमा सत्यता नभएको दाबी गरेको छ। सोडा मिसाइएको, कोलिफर्म जीवाणु भेटिएको, फ्याट र एसएनएफको मात्रा कम भएको विषय कानुन विपरीत भए पनि त्यसले मानव स्वास्थ्यलाई गम्भीर असर नपार्ने विषयलाई सरकारले आम जनतासमक्ष प्रष्ट पार्न सकेको छैन। यसमा तत्काल सरकारले प्रस्ट धारणा जनतासमक्ष ल्याउनुपर्छ।
लाखौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कुनै अमुक उद्योगलाई छैन। विषयको संवेदनशिलता अनुसार दोषीमाथि कारबाही हुनुपर्छ।
प्रशोधित दूधमा कोलिफर्मको उपस्थिति बर्जित भए पनि त्यसबाट त्यति आत्तिहाल्नु नपर्ने चिकित्सकहरू नै बताउँछन्। उमालेर उपभोग गरेको खण्डमा कोलिफर्म नष्ट हुन सक्छ। त्यसमाथि हाम्रा गाई-भैंसी पालनको शैली र गाउँगाउँबाट उठाइने दूध पूर्णरुपमा सफा र गुणस्तरीय हुन्छ भन्ने अवस्था छैन।
कसरी दूधमा 'कोलिफर्म' मिसिन आइपुग्छ भन्ने अध्ययन र त्यसमा अपनाउनुपर्ने सुधारका विषयमा एकरति चर्चा नगरी 'सबै दूधमा कोलिफर्म भेटियो र यी खान योग्य छैनन्' भनेर जनमानसमा अत्यास निम्त्याउनु हुँदैन।
अब सरकारले डेरी उद्योगको गुणस्तर सुधारमा ध्यान दिनुपर्छ। यससम्बन्धी कार्यजिम्मेवारी पाएको विभागले बजार अनुगमनलाई तीव्रता दिन जरुरी छ। औंशी-पूर्णेमा हुने अनुगमन, तीललाई पहाड बनाउने समाचार शैली र सुधार नगरी छोडिदिने सरकारी पाराले यो समस्या कहिल्यै समाधान हुनेवाला छैन।
यससँगै अहिले व्यवसायीले स्वदेशी उद्योगलाई धरासायी बनाएर जस्केलोबाट अमुक विदेशी कम्पनीलाई भित्र्याउन खोजेको आरोप लगाएका छन्। कानुनले दूधमा विदेशी लगानीलाई बर्जित गरेको छ। तर, यदि व्यवसायीले आरोप लगाएझैं स्वदेशी डेरीलाई बदनाम गराएर त्यसैको दाउमा विदेशी कम्पनी भित्र्याउन लागिएको हो भने यसले मुलुकका लागि किमार्थ राम्रो गर्नेछैन।
सरकारले नै तीन वर्षभित्र दूधमा आत्मनिर्भर हुने घोषणा गरेको छ। दूधमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको स्थितिमा सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउनुको मूल्य निकै ठूलो हुनेछ। यदि यसो भए दशौं हजार किसानसहित यस क्षेत्रमा कार्यरत लाखौंको रोजीरोटी गुम्ने अवस्था आउनेछ।
यसर्थ सरकारले सर्वप्रथम डेरी उद्योगलाई गुणस्तर सुधार गर्न बाध्य पार्नुपर्छ भने उपभोक्तामा रहेको भ्रमलाई पनि चिर्नु आवश्यक छ। यससँगै अहिलेका लागि विकल्प भनेको डेरी उद्योगको सुधार नै हो भन्नेतिर यथोचित ध्यान दिनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।