काठमाडौं- बिहान उठ्नेबित्तिकै अधिकांशले तातो दूध वा दूध हालेको चिया पिउँछन्। बिरामी, बालबच्चा र वृद्धवृद्धा अधिकांशलाई दूध नभई हुन्न। तर, यही दूध नै बिरामीको अर्को कारण भए के होला?
पछिल्लो समय सरकारले गरेको बजार अनुगमनबाट दैनिक उपभोग्य दूधमा विभिन्न कैफियत देखिएका छन्। तर, यही कैफियतका नाममा पर्दापछाडि नेपाली दूग्ध उद्योगलाई धराशायी बनाउन खोजेको आरोप व्यवसायीहरूले लगाएका छन्।
यसबीचमा हामीले लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय भएको अनुगमन र त्यसमा देखिएका यथार्थ खोज्ने प्रयत्न गरेका छौं।
कोलिफर्मको यथार्थ
अहिले सरकारले नै गरेको प्रयोगशाला परीक्षणले काठमाडौंका अधिकांश डेरीका दूधमा चिल्लो तथा ठोस पदार्थको मात्रा कम हुनेदेखि कोलिफर्मका जीवाणुसम्म फेला परेको देखाएको छ।
विभागको अनुगमनमा काठमाडौं उपत्यकाका २५ डेरीमध्ये २३ वटामा कोलिफर्मका जीवाणु देखिएको छ। खरिपाटी डेरी भक्तपुरको गायत्री र सामूहिक कृषक डेरी बालाजुको निलो र रातोमा भने कोलिफर्मको जीवाणु भेटिएन।
‘कोलिफर्म भन्नेबित्तिकै आत्तिहाल्नु पर्दैन’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार नेपालको दूग्ध मापदण्ड अनुसार प्रशोधित दूधमा कोलिफर्मको उपस्थित वर्जित छ। ‘तर कोलिफर्म भन्नेबित्तिकै डराइहाल्नुपर्दैन,’ उनी भन्छन्। सबै कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक नहुन पनि सक्छ ।
उनका अनुसार कुनै प्रशोधित दूध ७२ डिग्री सेल्सियसमा १५ सेकेन्ड मात्र तताएको खण्डमा पनि सबै प्रकारका कोलिफर्म नष्ट हुन्छन्। दूध उमालेर खान सकियो भने भएको कोलिफर्म पनि नष्ट हुने महानिर्देशक कर्ण बताउँछन्। नतताईकन खानेलाई चाहिँ कोलिफर्म संक्रमण भएको दूधले हानि गर्छ।
गाई वा भैंसी दुहुँदा थुनमा गोबर लागेको, भाँडावर्तनको फोहोर, वातावरण सफा नभएको, उचित किसिमले ढुवानी नभएको, चिस्यान केन्द्रको सरसफाइ र भण्डारणको अवस्था, उद्योगमा प्रशोधन गरिसकेपछि पनि उपयुक्त किसिमले प्याकिङ नगर्दा, प्याकिङ गर्ने मेसिनमा फोहोर हुँदा आदि कारण पनि दूधमा कोलिफर्मको संक्रमण हुन सक्ने विभाग बताउँछ।
यसअघि २०७० सालमा पहिलो पटक थुप्रै ब्राण्डका दूधमा कोलिफर्म जीवाणु फेला परेको थियो।
युरियाको ‘हौवा’
पछिल्लो समय दूधमा युरियासमेत मिसिएको खबर आइरहँदा विभागले भने यसको खण्डन गरेको छ। विभागका महानिर्देशक कर्ण भन्छन्, ‘हाम्रो प्रयोगशाला रिर्पोटले दूधमा युरिया मिसाइएको तथ्य फेला परेको छैन।’
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको निर्देशनसँगै विभागले गरेको प्रयोगशाला परीक्षणबाट ४० वटा ब्राण्डका दूधमा सोडा (न्यूट्रलाइजर) भेटिएको थियो।
कर्णका अनुसार दूध फाट्नबाट जोगाउने प्रयोजनका लागि खाने सोडाको प्रयोग हुँदै आएको छ। ‘लामो समयसम्म दूधलाई फाट्नबाट जोगाउन सोडा प्रयोग गरेको भेटिएको हो,’ उनले भने। यसले मानव शरीरमा ठूलो असर भने नगर्ने उनले बताए।
पछिल्लो बजार अनुगमनका क्रममा यसको प्रयोग कम देखिएको उनको दाबी छ।
गुणस्तरमा उद्योगको बदमासी
विभागको गुणस्तर रिपोर्टले देखाएको अर्को तथ्य हो– दूधमा न्यून गुणस्तर। विभागका अनुसार नमुना परीक्षणबाट १७ वटा ब्राण्डका दूधमा न्यून चिल्लो वस्तु (फ्याट) र ९ वटामा चिल्लो बाहेकका ठोस वस्तु (एसएनएफ) को कमी छ।
विभागका अनुसार प्रशोधित दूधमा फ्याटको मात्रा कम्तीमा ३ प्रतिशत र एसएनएफको मात्रा कम्तीमा ८ प्रतिशत हुनुपर्छ। मापदण्डभन्दा कम मात्रामा फ्याट र एसएनएफ हुनु न्यून गुणस्तर हुनु हो। ‘यसले शरिरलाई असर त गर्दैन, तर उपभोग्य वस्तु मापदण्ड अनुसारको हुनुपर्छ,’ विभागका महानिर्देशक कर्ण भन्छन्।
गुणस्तर सुधार्न कानुन परिमार्जनको तयारी
दूधमा अनेक समस्या देखिएपछि पछिल्लो समय विभागले आचारसंहिता ल्याउने तयारी गरेको छ। विभागका महानिर्देशक कर्णका अनुसार अब दूग्ध किसान, संकलन, चिस्यान र वितरण केन्द्रका लागि छुट्टाछुट्टै आचारसंहिता जारी गर्ने तयारी भएको छ। त्यस्तै, साना डेरी पसलका लागि पनि छुट्टै मापदण्डको तयारी भइरहेको विभागले बताएको छ।
‘अहिलेका दूधसम्बन्धी आचारसंहिता खाद्य ऐनअनुसारका छैनन्,’ विभागका महानिर्देशक कर्ण भन्छन्, ‘खाद्य ऐनसँग जोडेर आचारसंहिता ल्याउने तयारी गरेका हौं।’
कारबाहीका लागि फेरि लिइयो दूधको नमुना
दूधको गुणस्तर सुधारका लागि विभागले पुनः दूधको नमुना संकलन गरेको महानिर्देशक कर्णले बताएका छन्। गत असारमा गरेको अनुगमन भने बजार अध्ययन तथा अनुसन्धानका लागि भएको उनले बताए। ‘अहिले हामीले कारबाही नै गर्नेगरी नमुना संकलन गरेका छौं, त्यसको प्रयोगशाला परीक्षण भइरहेको छ’ उनले भने, ‘अब पनि दोषी भेटिए कारबाही हुन्छ।’
तर, ३० जेठमा कृषि मन्त्रालयले अनुगमनका क्रममा संकलित तथा प्रयोगशाला परीक्षणका क्रममा मापदण्ड अनुरुप नपाइएका डेरी उद्योगहरूलाई प्रचलित खाद्य ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको थियो। मन्त्रालयको उक्त दाबीलाई विभागको भनाइले काटेको छ।
‘नेपाली उद्योगलाई ध्वस्त पार्न खोजियो’
दूधमा कोलिफर्मको चर्चा चलिइरहँदा डेरी उद्योग संघले भने डेरी उद्योगलाई ध्वस्त पार्ने गलत नियतले गलत प्रचार गरिएको दाबी गरेको छ। संघका अध्यक्ष राधाकृष्ण सापकोटाका अनुसार पछिल्लो दुई साताको बीचमा दूधको उपभोग झन्डै चौथाइले घटेको छ।
‘मिल्क होलिडे हुनबाट जोगाउन गरिएको अनुगमनले झन ठूलो मिल्क होलिडे निम्त्याएको छ,’ संघका अध्यक्ष सापकोटा भन्छन्। अनुगमनमा दोषी देखिएकालाई तुरुन्तै कारबाही गर्नुको साटो गलत प्रचारबाजीमा लाग्नु उचित नभएको उनको तर्क छ।
‘नेपाली डेरी उद्योगलाई सिध्याउने गरी चलखेल भएको छ,’ उनी भन्छन्, ‘यसले सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर हुने लक्ष्यलाई नै असफल बनाउने जोखिम छ।'
—O—
कोलिफर्मले कसरी गर्छ हानि?
— डा शेरबहादुर पुन
कोलिफर्म एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। कोलिफर्म बाहिरी वातावरणमा रहेको फोहोर, पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ।
यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा धेरै हानि भने पुर्याउँदैनन्।
यसलाई सामान्यतः ३ प्रकारले छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ। सबै कोलिफर्म हानिकारक भने हुँदैनन्।
टोटल कोलिफर्म, फेकल कोलिफर्म र इको कोलिफर्म गरी कोलिफर्मलाई मुख्यतः ३ प्रकारमा बाँडिन्छ। टोटल कोलिफर्मले आफूले प्रयोग गर्ने पानीमा फोहर मिसिएको बताउँछ भने फेकलले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। त्यसैगरी इको कोलिफर्मलाई फेकल कोलिफर्मको उपसमूहका रूपमा लिने गरिन्छ। इको कोलिफर्मले कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने समेत गराउँछ।
अहिलेसम्म दूधमा कुन खालको कोलिफर्म भेटिएको भनेर पत्ता लागिसकेको छैन। विदेशमा जस्तो एकदम हानिकारक महामारी नै फैलिने कोलिफर्म भेटिएको हो या समान्य भेटिएको हो त्यो भने यकिन हुन सकेको छैन।
दूधमा भेटिएका कोलिफर्मको जीवाणुले असर पारिहाल्ने त होइन तर दूध भने मज्जाले उमालेर खानुपर्छ। सफा भाँडामा राम्ररी उमालेर खाएमा किटाणु मर्छन् त्यस्तो हानि गर्दैन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।