काठमाडौं- रात्रिकालीन मनोरन्जन व्यवसायबाट धेरै युवायुवतीले रोजगारी पाए पनि उनीहरु सन्तुष्ट छैनन्। कतिपय अवस्थामा मालिकबाटै ठगिइरहेका छन् भने धेरैजसो ग्राहकको शारीरिक शोषणमा।
धरानकी सुनिता काठमाडौंका रेस्टुरेन्ट तथा डान्सबारमा ३ वर्षदेखि संलग्न छिन्। डान्स गरेबापत उनी महिनामा १५ देखि २१ हजारसम्म कमाउँछिन्। उनले रोजगारी त पाएकी छन् तर सम्मान छैन। भन्छिन्, 'युवतीहरुमाथि उल्टै शोषण हुने गरेको छ।'
लोकदोहोरी, डान्सबार, रोदी क्लबमा आबद्ध अधिकांश युवती श्रम शोषणमा पर्ने गरेका हुन्।
'यहाँ देखाउने अनुहार एउटा हुन्छ, गर्ने व्यवहार अर्कै,’ सुनिता भन्छिन्, 'काम र रुप भएसम्म रात्रिकालीन मनोरन्जनमा काम पाइन्छ। त्यसपछि के गर्ने हामी नै अन्योलमा पर्छौं।'
साथी नेपालको अध्ययन अनुसार पूर्ण मनोरन्जन गर्न आउने व्यक्तिले कम्तीमा ४० हजारदेखि १ लाखसम्म खर्चिने गरेका छन्। मनोरन्जन क्षेत्र र यसमा संलग्न युवतीलाई आधार बनाएर अध्ययन गर्दा धेरैजसो ग्रामीण भेगका युवतीले काम गर्ने गरेको साथी नेपालकी उमा लिम्बुले बताइन्। यो क्षेत्रमा काम धेरै युवती असुरक्षित हुने गरेको समेत उनको भनाइ छ।
ठमेलको एक डान्सबारमा डान्स गर्ने सवित्रीले भने ग्राहकहरुबाटै दुर्व्यवहार हुने बताइन्। 'डान्सबारवाली भनेर दुर्व्यवहार गर्छन्। यो क्षेत्रमा काम गर्ने युवतीलाई मनोरन्जनको साधनका रुपमा प्रयोग गरिन्छ,' उनले भनिन्।
उपत्यकाका रेस्टुरेन्ट र डान्सबारमा काम गर्ने अधिकांश युवतीहरुले श्रम शोषणसँग यौन शोषण पनि हुने गरेको गुनासो गरे। तर यो समस्या लिएर उनीहरुले कतै उजुरी वा न्यायका लागि जाने गरेको पाइँदैन। 'काम गर्ने सिलसिलामा दुर्व्यहार भएर प्रहरीकहाँ गयो भने उल्टो अपमान भएर फर्किनुपर्ने अवस्था छ,' सावित्री भन्छिन्।
यसरी हुन्छ शोषण
मसाज सेन्टर, दोहोरी साँझ र रेस्टुरेन्टमा फरकफरक किसिमको शोषण हुने गरेको अर्की कामदार रीताले अनुभव सुनाइन्। दोहोरीमा नाच्ने, गाउने महिलामाथि शारीरिक शोषणभन्दा बढी आर्थिक शोषण हुने उनको भनाइ छ।
ठमेलको एक मसाज सेन्टरमा काम गर्ने सन्तोषी भन्छिन्, ‘मसाज भन्नु मात्र हो। मसाज हुँदै ससाज (सेक्स) गर्न बाध्य पारिन्छ। नाम चलेकै व्यक्ति पनि बोर भयो भन्दै हामीसम्म आएर शोषण गरिरहेका हुन्छन्।'
उपत्यकाका खाजाघरभित्र पनि एक किसिमको क्याबिन सञ्चालन हुने गरेका छन्। यस्ता क्याबिनमा काम गर्नेहरु भने अझ शारीरिक शोषणमा पर्ने गरेको नयाँ बसपार्कस्थित एक क्याबिनमा काम गर्ने शर्मिलाले बताइन्।
सरकारसँग आँकडा छैन
रोजगारीसँग जोडेर वार्षिक ५ देखि ७ हजार नेपाली युवती भारत र अन्य देशका डान्सबार र मनोरन्जन क्षेत्रमा काम गर्ने पुग्ने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) ले को अध्ययनले बताउँछ। सन् २०१५ मा गरिएको सो अध्ययनपछि थप सर्वे गरिएको पाइँदैन। नेपाल सरकारले यो विषयमा अध्ययन सर्वेक्षण गरेको छैन।
प्रत्येक वर्ष १२ हजार किशोरी (१८ वर्षमुनिका) भारतको मुम्बई, दिल्ली र कोलकाता हुँदै अन्तर्राष्ट्रिय मनोरन्जन बजारमा प्रवेश गराउने गरेको आइएलओको सो प्रतिवेदनमा भनिएको छ।
यो क्षेत्रमा अशिक्षित तथा उपत्यकका बाहिरका अज्ञानी महिला अन्जानमा फस्ने गरेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालय काठमाडौंकी अनिता अधिकारी बताउँछिन्। सरकारले मनोरन्जनका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको दर्जा नछुट्याउँदा पनि समस्या देखा परिरहेको छ।
'यो विषयमा राज्यले छुट्टै ऐननियम बनाएर नियमन गर्नुपर्छ,' उनी भन्छिन्, 'यो क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य नाजुक हुने गरेको पाइन्छ। सरकारले समयमै ध्यान नदिए समस्या झन् जटिल बन्न सक्छ।’
पछिल्लो पटक विभिन्न संघसंस्थाले काठमाडौं उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज, क्याबिन र रात्रिकालीन मनोरन्जन क्षेत्रमा गरेको सर्वेक्षणमा प्राय: सबै जिल्लाका महिला डान्सबारमा आबद्ध छन्। यसरी काम गर्ने युवतीले यौन व्यवसाय पनि अँगाल्ने गरेको सर्वेक्षणमा खुलाइएको छ।
मनोरन्जन व्यवसाय पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिएको व्यवसायभित्रै पर्ने भन्दै रात्रिकालीन मनोरन्जन क्षेत्रमा काम गर्ने नेपाल रेस्टुरेन्ट व्यवसायी संघका विजय लामाले संघसस्थाले हल्ला गरेजस्तो यो क्षेत्रमा समस्या नभएको दाबी गरे।
रात्रिकालीन व्यवसायमा एक लाख युवती
‘फ्रि दी स्लेभ्स’ले गरेको अध्ययनमा उपत्यकाभित्र रहेका १२ हजारभन्दा बढी रात्रिकालीन मनोरन्जन व्यवसायमा एक लाख युवती संलग्न छन्। त्यसमा १६ वर्षमुनिका किशोरीहरु ३० देखि ४० हजारभन्दा बढी रहेको नेपाल युथको सर्वेमा उल्लेख गरिएको छ। यो क्षेत्रमा काम गर्ने संस्थाको तथ्यांकमा पनि एकरुपता पाइँदैन।
यसरी रात्रिकालीन क्षेत्रमा काम गर्ने ३ देखि ५ हजारले मात्र पारिश्रमिकको सम्झौता गर्ने गरेको युथ नेपालले गरेको सर्वेमा जनाइएको छ।
साथी नेपालको अर्को अध्ययनमा १५ वर्षमुनिका ४० प्रतिशत किशोरी मनोरन्जन क्षेत्रमा काम गर्छन्। रात्रिकालीन मनोरन्जन क्षेत्रमा उपत्यकाभित्र मात्र एक लाखभन्दा बढी युवतीले काम गर्ने गरेको उसको सर्वेमा उल्लेख छ।
यो क्षेत्रमा काम गर्ने १० प्रतिशत महिलाले मात्र रोजगारदातासँग सम्झौता गरेर काम गर्ने गरेका विभिन्न संघसंस्थाले औंल्याएका छन्।
सरकारले यो क्षेत्रलाई नियन्त्रण गर्ने भनेर २०६५ निर्देशक ल्याएको थियो। तर, त्यस अनुसार काम भएको छैन। निर्देशकमा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारले काम गर्ने प्रयास गरे पनि सफल नभएको श्रम कार्यालयका निर्देशक वरुण झा बताउँछन्।
सूचना अभाव
यस्तो क्षेत्रमा संलग्न कामदारलाई यहाँ काम गर्दा हुने फाइदा र बेफाइदाबारे नै ज्ञान छैन। प्राय:ले परिवारको आर्थिक संकट टार्नका लागि यो क्षेत्रलाई अपनाउने गरेका छन्। उनीहरुलाई सरकारी तथा यस्ता क्षेत्र नियालिरहेका गैरसरकारी संस्थाले पर्याप्त सूचना र जानकारी प्रवाह नगर्दा पनि समस्या उस्तै छ।
केही सीमित व्यक्तिले राम्रो कमाइ गरेको देखासिकीमा रात्रिकालीन मनोरन्जनमा होमिनेको संख्या निकै छ। २०७२ को विनाशकारी भूकम्पको प्रभावपछि यो क्षेत्रमा आउनेको संख्यामा केही वृद्धि भयो। जागिरको खोजीमा ग्रामीण भेगबाट आएका धेरै युवती यो क्षेत्रमा प्रवेश गरेको साथी नेपालको अध्यययनले जनाएको छ। भूकम्पपछि बेरोजगार युवतीले लहैलहैमा यो क्षेत्र रोज्ने गरेको साथी नेपाल संस्थाकी उमा लिम्बुले बताइन्। 'प्रलोभन र कमाइ हुने आसमा धेरै अशिक्षित महिला प्रवेश गर्ने गरेका छन्,' उनले भनिन्।
(माथि उल्लिखित कामदारहरुको नाम गोपनीयताका लागि परिवर्तन गरिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।