काठमाडौैं– निर्वाचित तिब्बती नेता दलाई लामाका उत्तराधिकारी रुपमा हेरिएका कर्मापा लामा (थिन्ले थाये दोर्जे) को जन्मोत्सवको अवसरमा फ्रि तिब्बत सम्बन्धी गतिविधि हुन सक्ने भन्दै मंगलबार चिनियाँ दूतावास आसपास ठूलो संख्यामा सुरक्षाकर्मी खटाइयो। तिब्बती शरणार्थीका गतिविधि रोक्न प्रहरीले विशेष रणनीति नै बनाएको थियो।
तर, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई भने आफैं फ्रि तिब्बत पक्षधरले आयोजना गरेको कार्यक्रममा अतिथि बने। कर्मापा सेवा 8 नेपालले आयोजना गरेको कार्यक्रममा उनी अतिथि बनेका हुन्।
कर्मापाको ३३औं जन्मोत्सवका अवसरमा बौद्धको दाप्साङ रिम्पोछेको गुम्बामा आयोजित कार्यक्रममा डिएसपी राई अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले कर्मापालाई जन्मदिनको शुभकामना दिए।
राई मात्र होइन, उक्त कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष दीपेन्द्रकुमार लामा पनि अतिथिका रुपमा उपस्थित भएका थिए।
बौद्ध वृत्तका डिएसपी राईले आफू सो कार्यक्रममा उपस्थित भएको स्विकारेका छन्। ‘म यहाँ नयाँ भएकाले धेरै थाहा भएन, तर त्यो फ्रि तिब्बत पक्षधरको कार्यक्रम भने होइन’, उनले भने, ‘पोहोर साल सिडिओ पनि जानुभएको रहेछ, यसपटक अन्य अधिकारीहरु पनि जानुभएको थियो, म पनि गएको हुँ।’
केही वर्षअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा पनि सो कार्यक्रममा जाँदा विवाद भएको थियो।
कर्मापा तिनै व्यक्ति हुन्, जो २०५८ सालमा नेपालबाट भारत भागेका थिए। मुस्ताङको केरला नाकाबाट नेपाल प्रवेश गरेका उनी सडक मार्गबाट आउँदा पक्राउ पर्ने डरले हेलिकोप्टरबाट भक्तपुरमा पुगेका थिए। भक्तपुरबाट सडकमार्ग भएर गोप्य रुपमा रुपन्देही हुँदै भारत पुगेका थिए।
कर्मापा लामा
त्यसरी कर्मापालाई भारत जान सघाएको आरोपमा त्यसबेला भक्तपुरका सिडिओ र प्रहरी प्रमुखलाई निलम्बन समेत गरिएको थियो।
भारतको धर्मशालामा बस्दै आएका उनी अहिले अमेरिका गएका छन्। उनी तिब्बती शरणार्थीहरुका दलाई लामापछिका उच्च व्यक्ति हुन्।
कर्मापाका अनुयायीहरुले अहिले पनि नेपालमा विभिन्न गतिविधि गर्दै आएका छन्। बौद्ध क्षेत्रमा ठूलो संख्यामा तिब्बती शरणार्थीहरु बस्ने भएकाले बौद्धमा फ्रि तिब्बत सम्बन्धी गतिविधि हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।