चितवन- लगातार पहिरो खस्न थालेपछि नारायणगढ-मुग्लिन सडक खण्ड बिहानैदेखि अवरुद्ध बनेको छ। बिहान ४ बजेतिर चारकिलोस्थित तोपो खोलामा पहिरो खसेदेखि नै अवरुद्ध सडक पुन: पहिरो खसेपछि तत्काल नखुल्ने भएको छ। सोही ठाउँमा ७ बजे फेरि पहिरो खसेको थियो।
सडक अवरुद्ध भएपछि सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरु सास्ती खेप्न बाध्य छन्।
एक्स्काभेटर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको र सडक विभागको थप सहायतामा सडक खुलाइने मुग्लिन प्रहरीका इन्स्पेक्टर इन्द्र घिसिङले बताए। उनका अनुसार सडक पूर्ण रुपमा खुल्न अझै कम्तीमा ४ घन्टा लाग्छ।
दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदै आएको छ। पहिरो पन्छाएर सवारी सुचारु गराए पनि पुन: पहिरो खस्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि वर्षामा पहिरो खस्ने क्रम रोकिएको छैन। हिजो मात्रै तीन ठाउँमा पहिरो खसेको थियो।
तस्बिर : निमेष जंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।