काठमाडौं- विश्वकप फुटबल ‘फिभर’ विश्वभर नै उच्च छ। सबै भूगोल, वर्ग र पेसाकर्मी जस्तै चिकित्सकलाई पनि यसले छाडेको छैन। स्कुल, कलेज पढ्दा फुटबल हेर्ने रस पसेपछि त्यसलाई निरन्तरता दिने मध्येका एक हुन् डा दीलिप शर्मा।
प्रधानमन्त्री केपी शर्मा ओलीका क्याबिनेट चिकित्सक, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार र वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा शर्मा राति ११:४५ मा हुने केही खेलबाहेक सबै नछुटाई हेरिरहेका छन्। रातिको खेल भने आफूलाई मन पर्ने टिमको मात्रै हेर्छन् अचेल। तर, सेमी फाइनल र फाइनलमा भने राति पनि जागा बस्ने योजना अहिल्यै बनाइसकेका छन् उनले।
खेल हेर्दा रमाइलो भने यसअघि विश्वकप जितिरहेका देश र नाउँ चलेका खेलाडी भएको टिमको लाग्छ। तर, खेल हेरिरहँदा उनको मनमा एउटै कुरा खेल्छ, नयाँ टिमले जितोस्। यसपल्टको फाइनलमा निकै नाम चलेको टिमसँग एकदमै नयाँ टिम भिडेको हेर्ने उत्कट चाहना पालेका छन् उनले। उनलाई लाग्छ, ‘जितको पूर्वानुमान गर्न नसकिने खेल हेर्नु पो रमाइलो।’
निरन्तर हाबी हुँदै आएका टिमको एकाधिकारमा धक्का लागोस् भन्ने मनोकांक्षा पालेका उनी यसपल्ट एउटा नयाँ टिमले तहल्का मच्चाओस् भन्ने चाहन्छन्।
कलेज पढ्दादेखि नै उनी इटलीका प्रशंसक हुन पुगे। सन् १९९० देखि सन् १९९८ सम्म वर्ल्डकप खेलेका इटलीका चर्चित खेलाडि रोबर्टो बाजियोको खेलकौशलले उनलाई मोहनी लगाएको थियो। त्यो समयका ‘स्टाइलिस’ खेलाडी समेत रहेका बाजियोकै कारण उनी अहिले पनि इटलीलाई समर्थन गर्छन्। तर, यसपल्ट उनको प्रिय टिम विश्वकपका लागि छनोट नै हुन सकेन।
इटली नहुँदाको समर्थन दुईतिर विभाजन भएको छ। ‘पुरानोमा ब्राजिल, नयाँमा टिम तय भइसकेको छैन तर फाइनलसम्म कोही पुगिदिए हुन्थ्यो जस्तो लागेको छ,’ उनी भन्छन्। ब्राजिल उनले अहिलेका स्टार खेलाडी नेइमारका कारण छनोट गरेका हुन्। उनलाई लाग्छ, ‘नेइमार अहिलेको पुस्ताका प्रतिभावान् खेलाडी हुन्।’
विश्वकप भन्नेबित्तिकै उनको दिमागमा आउने सन् १९९८ को हो। फ्रान्समा भएको उक्त विश्वकप आयोजक देशले नै राखेको थियो। फाइनलमा ब्राजिललाई ३–० ले पछारेको थियो फ्रान्सले। साथीभाइसँग रमाउँदै उक्त खेल हेरेका थिए उनले। त्यो विश्वकपमा निद्रा खराब हुने गरी अरु खेल पनि हेरे।
अहिले परिवारसँग घरमै फुटबलको मज्जा लिइरहेका छन्। सेमी फाइनल र फाइनल खेलमा भने घरपरिवारसँगै साथीभाइ थप्ने योजना छ उनको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।