काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका शीर्षकमाथि छलफल जारी छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि विभिन्न दलका सांसदले धारणा राखिरहेका छन्।
छलफलमा सहभागी सांसदहरुले तराईका जिल्लामा नदी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध बनाउन, सबै जिल्लामा सिँचाइ सुविधा पुर्याउन तथा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले आफुहरुले माग गरे अनुसारको कार्यक्रम योजना समावेश नभएकोको आपत्ति जनाए। काग कराउँदैछ पिना सुक्दैछ भनेजसरी सरकार अघि बढेको उनले आरोप लगाए। सरकारले प्रतिपक्षी दलका सांसदले भनेका योजना समावेश नगरेको भन्दै उनले थपे, 'ठूलाठूला नेताको क्षेत्र मात्रै विकास गरेर समृद्ध नेपाल र सुखी नेपाली कसरी हुन सक्छ?'
नेकपाका सांसद नवराज सिलवालले सुरक्षा संयन्त्रको पुनसंरचना गर्नुपर्नेका जोड दिए। सुरक्षा नै विकासको मुल मेरुदण्ड भएको भन्दै उनले सुरक्षा संयन्त्र चुस्त र दुरुस्त राख्न समग्र सुरक्षा संयन्त्रको पुनसंरचना गर्दै राजधानीको ट्राफिक व्यवस्थापनमा पनि उपयुक्त कार्ययोजना सहितको बजेट विनियोजन गर्न सुझाव दिए।
नेकपाका सांसद पुष्पाकुमारी कर्ण कायस्थले सडक दुर्घटना कम गर्दै सुरक्षित सडक यात्रा, एकीकृत ट्राफिक व्यवस्थापन कार्यक्रममा बजेट नभएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न गृहमन्त्रीको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका सांसद पदमनारायण चौधरी प्रहरी प्रशासनको विकेन्द्रीकरण हुन नसक्दा प्रहरीहरु अन्यौलमा रहेकाले शान्ति सुरक्षाको अवस्था प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेकपाका सांसद मोहन बानियाले जलविद्युत्का आयोजनाहरुमा जनताको अनिवार्य लगानी गराउनुपर्ने धारणा राखे। नेपालको पानी जनताको लगानी भन्ने नारालाई पछ्याउन पनि उनले सरकारलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।