काठमाडौं– मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।
उर्जा, जलस्रोत तथा सिँचाइ, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल चलिरहँदा गृहमन्त्रीको उपस्थिति नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक प्रभावित भएको हो।
यस विषयमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नमा सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको जानकारी गराउँदै आफ्नो स्थानमा बस्न अनुरोध गरेपनि सांसदहरुले अस्विकार गरेपछि बैठक प्रभावित भएको हो। यस विषयमा केही समय प्रतिपक्षी दलका सांसद र सभामुखबीच दोहोरो बहस नै भएको थियो।
‘ट्राफिक जाममा गृहमन्त्री पर्नुभएको छ’ भन्दै सभामुखले बैठक सुचारु गराउन आग्रह गर्दा बैठककक्ष केहीबेर हाँसोले गुन्जिएको थियो। प्रतिपक्षी दलका सांसदहरुले संसदको अपमान भएको भन्दै उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
विभागीय मन्त्रीको अनुपस्थितिमा संसद बैठक अवरुद्ध भएको यो दोश्रो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।