बेनी– गएको दश वर्षको अवधीमा म्याग्दीको मालिका गाउँपालिका–२, रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना तीन छोरालाई वैदेशिक रोजगारीका क्रममा गुमाए। जुन आँगनमा हुर्काए, त्यही आँगनमा एकपछि अर्को गर्दै रातो बाकसमा ल्याइएका छोराहरुको शव हेर्नुपर्छ भनेर उनीहरुले कहिल्यै सोचेकासम्म थिएनन्।
परिवारको दैनिकी धान्न सजिलो होला भनेर विदेश पठाएका छोराहरुलाई गुमाउनुको पीडा खेपिरहेका रोका दम्पत्तिले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन्।
धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत ११ गते मलेसियामै कार्यस्थलमा नै मृत्यु भएको थियो।
दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको काम गरिहेको समयमा मृत्यु भएपछि रोका दम्पतीले आफ्नो साइँलो छोरा थमबहादुर र नातिहरुलाई कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका हुन्।
‘बूढेसकालको सहारा एउटा छोरा मात्रै छ, ३ वटा छोरालाई दैवले लग्यो।’, सन्तान गुमाउनुको पीडा सुनाउँदै लीलमतिले भनिन्,‘३ वटा छोरालाई विदेशमै गुमाएँ, बचेको साइँलो छोरा छ, हामी उसकै काखमा मृत्युवरण गर्न चाहन्छौँ, त्यसैले गरिबीले जति सताए पनि कुनै हालतमा पनि छोरा नातिलाई अब विदेश पठाउँदैनौँ।’
औषधोपचार र घरायसी कामको सिलसिलामा आमाबुबालाई सदरमुकाम बेनीमा लिएर आएका रोका दम्पतीका साइँला छोरा थमबहादुरले विदेश जानका लागि बनाएको राहदानी पनि स्वर्गीय दाजु र भाइको राहदानीसँगै फालिदिएको स्मरण गरे। रोकाले भने,‘गाउँकै भिरपाखामा खेल्छु, आमाबुबाको हेरचाह गर्छु, एकपेट भोकै एकपेट मकै खाएर भए पनि गुजारा गर्छु तर आमाबाबाको मन कुँडाएर विदेश जान्न।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।