इनरुवा– सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफैले पढ्ने विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्।
साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन्। उनी प्रिसियस एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन्।
पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए।
कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए। घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक र अन्य शिक्षक मिलेर निर्घात कुटपिट गरेको आरोप लगाए।
पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उता प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने गरी नकुटेको दाबी गरे। यादवले आवेगमा आएर कुटपिट गरेको स्वीकार गरे। उक्त घटना मिलाउने प्रयासमा समेत भइरहेकोले प्रधानाध्यापक यादवले सञ्चारकर्मीलाई समाचार लुकाइदिन समेत आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।