तेहरान– इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन्।
संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफू सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो।
सम्झौता भङ्ग भएर इरानमाथि पुनः आर्थिक नाकावन्दी भएमा यसले इस्लामिक गणतान्त्रिक इरानसँग व्यापार साझेदारी रहेका मुलुकसँगको कारोबारलाईं प्रभावित बनाउने छ।
यद्यपि सम्झौताका हस्ताक्षरकर्तामध्ये अमेरिका बाहेकका अन्य मुलुक सम्झौताबाट फिर्ता नहुने प्रतिवद्धता जनाइसकेका छन् तर उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन्।
‘आणविक सम्झौता असफल भएमा यो हाम्रा लागि निकै खतरापूर्ण हुनेछ,’ इरानी विदेशमन्त्री जरिफले इरानको च्याम्बर अफ कमर्सलाई भनेका इरानको आधिकारिक समाचार संस्था आइआरएनएले जनाएको छ।
इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउदै बाहिरिन थालिसकेका छन्। यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।