भैरहवा– बेलहिया–बुटवल ६ लेनको निर्माणाधीन सडक अस्तव्यस्त हुँदा दुर्घटना बढ्दै गएको छ।
सडकमा यत्रतत्र थुपारिएका नदीजन्य पदार्थ, जताततै खाल्डो र धूलो लगायतले गर्दा यात्रु र स्थानीयले सास्ती खेप्नुका साथै दुर्घटनाको जोखिम बढेको छ। यसो हुनुमा सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीहरुको चरम लापरवाही देखिएको छ।
निर्माणाधीन सडकखण्ड अन्तर्गत भैरहवाको अञ्चलपुरदेखि कटैयासम्म निर्माणको ठेक्का पाएको विरुवा कन्सट्रक्सनले सडकमा यत्रतत्र निर्माण सामग्री छर्ने र एकातिर खनेर छाड्दै अर्कोतिर खन्ने गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्।
साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित थालिएको उक्त २ किलोमिटर ८ सय मिटर सडक निर्माणको ठेक्का पाएको विरुवा कन्सट्रक्सनको म्याद आगामी भदौभित्र सकिँदै छ। तर, हालसम्म कम्पनीले एक मिटर सडक समेत कालोपत्रे गरेको छैन।
ठेकेदारको कामबाट आफूहरुले सास्ती पाउनुका साथै सवारी दुर्घटना समेत बढ्दै गएको स्थानीय ओमसतिया गाउँपालिका २ का अच्युत आचार्य बताए।
वर्षायाम सुरु भएसँगै सडकमा जम्मा हुने पानीको निकासका लागि नाला पूर्णरुपमा निर्माण नहुँदा स्थानीयहरु थप समस्या परेका छन्।
गृहमन्त्रीले लापरवाहीपूर्वक काम गर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै चलाएको अभियानलाई सर्वसाधारणले स्वागत गरे पनि अभियान प्रभावकारी नहुँदा उनीहरु निराश भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चालू आर्थिक वर्षको बैसाख महिनासम्म निर्माणाधीन सिद्धार्थ राजमार्गमा मात्र ३१ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
सडकमा भएको खाल्डो र सडकमा यत्रतत्र थुपारिएको नदीजन्य पदार्थका कारण अत्याधिक सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डम्बर गिरीले बताए। आफूहरुले ठेकेदारको प्रतिनिधीलाई बोलाएर समस्या समाधान गर्नका लागि पटकपटक आग्रह गर्दा समेत अटेर गरेको उनको भनाइ छ।
बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाका इञ्जिनियर योगेन्द्र अधिकारीले ठेकेदार कम्पनीले सडक निर्माणमा लापरवाहीपूर्वक काम गरेकोतर्फ संकेत गर्दै काम सन्तोषजनक नरहेको बताए। उनले साढे २ वर्षअघि ठेक्का पाएको ठेकेदार कम्पनीले ८० प्रतिशत काम सक्नुपर्नेमा ४५ प्रतिशत मात्र काम सकेको जानकारी दिए।
‘३० प्रतिशत काम सकिएयता ठेकेदारले काम सुस्त गरेको छ। क्यास फ्लो पनि गरेको छैन’, उनले भने, ‘यस्तै अवस्था रहे हामी कारबाही गर्छौं।’
उनले निर्माणाधीन सडकमा दुर्घटना बढेको विषयमा उनी सडकको अवस्थाले मात्र नभई चालकको कारण पनि दुर्घटना बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।