वीरगन्ज- वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट ल्याएको छ।
महानगरको दोस्रो नगरसभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुषालले आगामी आर्थित वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको जानकारी गराए। उनका अनुसार, चालू खर्चतर्फ एक अर्ब ४४ करोड ७९ लाख ९ हजार, पुँजीगततर्फ ३ अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ एक करोड ५८ लाख ८३ हजार रुपैयाँ छुट्याइएको छ। उक्त रकम चालूतर्फ २९.१ प्रतिशत, पुँजीगततर्फ ७०.०६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३ प्रतिशत हो।
बजेटमा महानगरपालिकाले पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विजयकुमार सरावगीले नगरवासीसँग आफूले गरेका वाचा पूरा गरिछाड्ने बताए। उनले महानगरको विकास-निर्माणका काममा केही स्वार्थी तत्त्वले राजनीति गर्न खोजेको आरोप लगाउँदै त्यस्ता व्यक्ति जनतामाझ आफैं नाङ्गिने बताए।
नगर प्रमुख सरावगीले नियम र कानुनभन्दा बाहिर गएर आफू जनविरोधी काम कुनै पनि हालतमा नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
'मेरो कामबाट महानगरवासी सन्तुष्ट छन्, केही जनप्रतिनिधिले बखेडा गर्छन् भने त्यसले मलाई कुनै फरक पर्दैन', उनले भने।
बजेटमा महानगरको प्राथमिकता:
पूर्वाधार विकास क्षेत्र - ३ अर्ब ३६ करोड ६० लाख ८५ हजार
सामाजिक विकास क्षेत्र - ८५ करोड ५५ लाख २३ हजार
वातावरण तथा विपद् व्यवस्थापनमा - १ करोड ९१ लाख ५० हजार
कृषि, पर्यटनसहित आर्थिक विकास क्षेत्र - २ करोड २० लाख ६७ हजार
सामाजिक सुरक्षा भत्ता - २० करोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।