काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कमजोर नरहेको दाबी गरेको छ।
बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले पाठ्यक्रम अनुसार पठनपाठन नभएकाले एसइईको नतिजा कमजोर देखिएको पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पाठ्यक्रमको उद्देश्य अनुसार पठनपाठन गराउन पनि सबै विद्यालयलाई सचेत गराए।
अध्यक्ष पौडेलले ग्रेडिङका कारण एसइईको नतिजा कमजोर देखिएको भनाइ पनि सत्य नभएको बताए। उनले लगानीको अभावमा पनि सरकारी विद्यालयको पठनपाठन कमजोर भएको तर्क गरे।
अध्यक्ष पौडेलले एसइई परीक्षाको नतिजामा सुधार ल्याउन पाठयक्रम अनुसार पठनपाठनमा सुधार ल्याउनुको विकल्प नरहेको बताए। उनले एसइईको परीक्षा प्रणालीमा भने व्यापक सुधार आएको दाबी समेत गरे।
बोर्डले एसइईको नतिजा अपेक्षा अनुसार नभएको भने स्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।