काठमाडौं– नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था बलियो सरकार भएपछि कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन्।
नेकपा एमाले र माओवादी केन्द्रबाट सभामुख र उपसभामुख निर्वाचित भए पनि दुवै पार्टीको एकतापछि दुई पदमध्ये एक छोड्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसलाई सरकारले बेवास्ता गरेको आरोप उनले लगाए।
‘हामीले विश्वको उत्कृष्ट संविधान निर्माण गर्यौं, उक्त संविधानमा सबैले कानुन मान्नुपर्ने उल्लेख छ। तर सर्वसाधारणले कानुन मान्नुपर्ने सरकारले र संसदले मान्नु नपर्ने हो?’ उनको प्रश्न छ।
दल त्याग सम्बन्धी ऐनमा भएको व्यवस्था विपरीत मन्त्रीहरुले सार्वजनिक भाषण गर्दै हिँड्नुले कानुनी राज्यको उपहास भएको सांसद मुसलमानले टिप्पणी गरे। मन्त्रीहरुले पार्टीबाटै निर्वाचित भएका सभामुख र उपसभामुख हाल कुनै पार्टीको जिम्मेवारीमा नभएको भन्दै गरेको टिप्पणी सच्याएर फरक पार्टीको हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे।
सांसद मुसलमानले अदालतको आदेशका विषयमा मन्त्रीहरुले बोल्दै हिँड्नु कति उचित हो भन्दै प्रश्न समेत गरे।
यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले ३३ किलो सुन तस्करी प्रकरण किन सेलाएको भन्दै प्रश्न गरे। सञ्चार माध्यममा आएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुवालले सुन काण्डमा ठूला माछा पार्टीका नेताहरु भनी समाचार प्रकाशन भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए।
प्रधानमन्त्रीको चीन भ्रमणबारे टिप्पणी गर्दै सांसद सुवालले वैदेशिक सहायता लिनेभन्दा त्यसको सदुपयोग गर्ने नीति बनाउन माग गरे। उनले मित्रराष्ट्रबाट पाएका सहयोग कौडीको भाउमा बिक्री हुने अवस्था आउन नहुने भन्दै सजग समेत गराए। यस्तै, उनले सडकमा टिप्पर आतंक भएको र खाद्यान्य गुणस्तर परीक्षणको प्रयोगशाला नहुँदा उपभोक्ता समस्यामा परेको भन्दै सरकारले सुन्ने मात्र नभई जवाफ पनि दिनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।