काठमाडौं- रोजगारीको खोजीमा विदेशिने क्रममा ७१ प्रतिशत कामदार म्यानपावर कम्पनीबाट समस्यामा अथवा आर्थिक शोषणमा पर्ने गरेको एक अध्ययनले देखाएको छ। वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने संस्थाबाट ७१ प्रतिशत कामदार समस्यामा पर्ने र ठगिने गरेको 'पिपुल्स फोरम'को एक अध्ययनले देखाएको हो। यस्तै, २९ प्रतिशत कामदार म्यानपावरका प्रतिनिधि एजेन्टबाट ठगिने गरेको फोरमको अध्ययनमा उल्लेख छ।
रोजगारीका क्रममा ठगिएका कामदार अथवा पीडितहरु न्यायको पहुँचभन्दा बाहिर रहेको अध्ययनमा जनाइएको छ। यो क्षेत्रका १० देखि १५ प्रतिशत मुद्दा मात्र वैदेशिक रोजगार न्यायाधिकारणसम्म पुग्ने गरेको फोरमको अध्ययनमा उल्लेख गरिएको छ।
सरकारले वैदेशिक रोजगारी सम्बन्धी मुद्दा हेर्ने अधिकार स्थानीय तहसम्म नपुर्याउँदा ३ दशकसम्म यो क्षेत्रका समस्या जस्ताको तस्तै रहेको पिपुल्स फोरमका कानुनी सल्लाहकार सोम लुइँटेल बताउँछन्। राज्यले वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार स्थानीय निकाय र प्रहरीलाई दिए यो क्षेत्रको विकृति धेरै हदसम्म रोकिने उनको भनाइ छ।
वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य बताउँछन्। उनले भने, 'वैदेशिक रोजगारीमा क्रममा भएका घटना सरकारले सरल र छरितो तरिकाले सुनुवाइ गर्दै आएको छ। यो क्षेत्रमा हुने प्रमुख समस्या भनेको आर्थिक शोषण नै हो। कतिपय घटनामा रोजगारीमा जाने कामदार नै जानी-जानी फस्ने गर्छन्।’
आपसी आर्थिक लेनदेनको विषयलाई वैदेशिक रोजगारीसँग जोडिने गरेको उनको भनाइ छ। सरकारले वैदेशिक रोजगारी क्षेत्रका मुद्दा हेर्ने अधिकार स्थानीय तहलाई दिने तयारी गरिरहेको पनि महानिर्देशक आचार्यले जनाए। संशोधनको तयारीमा रहेको वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार स्थानीय निकायलाई दिनेगरी काम भइरहेको विभागले जनाएको छ। अहिले वैदेशिक रोजगारीका नाममा कोही पीडित भयो भने मुद्दाका लागि काठमाडौंसम्म धाउनुपर्ने वाध्यता छ।
गएका केही वर्षदेखि रोजगारीका नाममा आपराधिक क्रियाकलाप पनि बढिरहेको यो क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले बताउँदै आएका छन्। रोजगारीका नाममा कामदारलाई नेपालदेखि विदेशसम्मै समस्या खडा गर्ने सञ्जाल अथवा दोषीलाई सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्न नसक्दा उनीहरुको मनोबल बढेर घटना दोहोरिने गरेको छ। वैदेशिक रोजगारमा जाने क्रममा महिला धेरै समस्यामा परे पनि गुनासो बाहिरसम्म नल्याइने गरेको फोरमको अध्ययनमा उल्लेख गरिएको छ। जसका कारण रोजगारीमा जाने क्रममा महिला कामदारले कस्तो समस्या भोगिरहेका छन् भने पहिचान गर्न गाह्रो हुने गरेको विभागको भनाइ छ।
रोजगारीका क्रममा ठगिएका पीडितले दाबी गरेअनुसारको क्षतिपूर्ति नपाउने गरेको फोरमको अध्ययनमा जनाइएको छ। रोजगारीका क्रममा महिला पीडित भए उजुरी गर्ने सम्बन्धित निकायसम्म नपुग्ने गरेका कारण महिलाका मुद्दा विभागमा कम आउने गरेको अध्ययनमा जनाइएको छ। वैदेशिक रोजगारीका आधाभन्दा बढी मुद्दा व्यक्तिगत तरिकाले मिलापत्र गराइने गरेको अध्ययनमा खेलिएको छ। यसरी मिलापत्र गराउँदा पीडितले ठगीमा पर्दा तिरेको आधा मात्र रकम क्षतिपूर्तिबापत पाउने गरेको फोरमले जनाएको छ।
कामको खोजीमा विदेशिने अधिकांश कामदार आर्थिक शोषणमा पर्ने गरेका छन्। पछिल्लो समय राम्रो कमाई हुने देशसँगै रोजगारीको अवसर खोज्दा धेरै युवा ठगिने गरेका घटना बढ्दै गएका छन्। वैदेशिक रोजगारीका नाममा मानव तस्कारी पनि हुने क्रम बढ्दै गएको छ। विगत केही वर्षदेखि युरोप अमेरिकाको रोजगारीका पछि लाग्दा धेरै युवा दलालहरुबाट ठगिँदै आएका छन्।
वैदेशिक रोजगारीका नाममा वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष गरी १० हजारभन्दा बढी युवा पीडित हुने गरेको सरोकारवालाले बताउँदै आएका छन्। विभागमा नै वार्षिक करिब ३ हजार रोजगार पीडितले उजुरी गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।