चितवन– भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३ अर्ब ३४ करोड ५ लाख रुपैयाँको बजेट प्रस्ताव गर्ने भएको छ।
महानगरपालिकाको आइतबारबाट सुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ। महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ अर्थात् कूल बजेटको ५१ दशमलब ०४ प्रतिशत छ भने पूँजीगततर्फ १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ अर्थात् ४८ दशमलब ६६ प्रतिशत रहेको छ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ करोड अर्थात् ०.३० प्रतिशत बजेट प्रस्ताव गरिएको उनले बताए। बजेटले आर्थिक विकासमा ४ करोड ५० लाख, पूर्वाधार तथा शहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा १२ करोड, संस्थागत तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख, सामाजिकमा ३ करोड ५० लाख र वित्तीय व्यवस्थापन तथा प्रशासनतर्फ ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको उनले जानकारी दिए।
महानगरपालिकाका लेखा उपसचिव खडानन्द अधिकारीका अनुसार महानगरले राजश्व प्रक्षेपणबाट ५५ करोड, केन्द्र सरकारबाट आउने बजेट १ अर्ब ३३ करोड, प्रदेश सरकारको बजेट १५ करोड, राजश्व बाँडफाँड केन्द्रबाट २७ करोड, राजश्व बाँडफाड प्रदेशबाट १५ करोड, बैंक मौज्दात ३० करोड, सामाजिक सुरक्षा अनुदान केन्द्रबाट ४५ करोड र उपभोक्तालगागतबाट २० करोड रुपैयाँ गरी बजेट व्यवस्थापन गरिएको छ।
सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा आइतबार परिषद्को उद्घाटन गरिँदै छ। बजेट निर्माणअघि महानगरपालिकाले केन्द्रबाट विज्ञ झिकाएर बृहत छलफल गरेको थियो। स्थानीय विज्ञ, सरोकारवालालगायतसँग छलफल गरी बन्न लागेको गुरुयोजना अनुरुपका बजेट ल्याउन लागिएको महानगरले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।