काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव दिएका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता महतले दुवै छिमेकी राष्ट्रले नेपालमा रेल सेवा सञ्चालन होस् भन्ने कामना गर्नु स्वाभाविक भए पनि रेल सेवाको नाममा मुलुकलाई थप ऋणको बोझ बोकाउन नहुने धारणा राखेका हुन्।
उनले चीन र भारत दुवै छिमेकी राष्ट्रसँग नेपाल सरकारले अनुदानमा रेल निर्माण गर्न आग्रह गर्नुपर्ने सुझाव समेत दिए। उनले भने, ‘हाम्रा आफ्नै आन्तरिक आवश्यताहरु धेरै छन्, ती आवश्यकताहरु पूर्ति गर्न नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन, बनाए अनुदानमा बनाउने हो।’
नेता महतले राष्ट्रियताको चर्को नारा लगाउने वर्तमान सरकारले देशको राष्ट्रियतालाई खोक्रो बनाउँदै लगेको आरोप समेत लगाए।
उनले कांग्रेसको सभापतिहरुको भेला निकै सफल र सकारात्मक भएको टिप्पणी गरे। उनले पार्टीभित्र विभाजन नै आए जस्तो गरेर मिडियामा आएका विषयमा सत्यता नभएको दाबी गरे। भेलाले सरकारको सर्वसत्तावाद विरुद्ध शसक्त ढंगले सदन र सडक दुवैबाट प्रतिकार गर्नका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।