काठमाडौं– भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको पुनःनिर्माण हुन सकेको छैन।
रानीपोखरी पुनःनिर्माणको नाममा अहिलेसम्म झन्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, पुनःनिर्माणको काममा कुनै पनि प्रगति भएको छैन। १८ महिना अघिदेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाइएको आधुनिक कंक्रिट पर्खाल भत्काइएको थियो।
रानीपोखरीको बाहिरी घेरामा कंक्रिट वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। आधुनिक शैलीमा बनाउँदा रानीपोखरीको पुरातात्विक र परम्परागत शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काइएको हो। पर्खाल भत्काउन र कंक्रिटहरु हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले ९५ प्रतिशत काम सकिएको बताएको छ।
रानीपोखरी पुनःनिर्माणका लागि महानगरपालिकाले वर्ल्डवाइड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो। पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपूर्तिको माग गर्दै महानगर विरुद्ध मुद्दा दायर गरेको छ। सो मुद्दा अहिले पनि विचाराधीन छ।
आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केही दिनभित्र सकिए पनि त्यसपछिको पुनःनिर्माण के–कसरी गर्ने भन्ने स्पष्ट नभएकाले रानीपोखरीको पुनःनिर्माण कहिले भन्ने अन्यौल कायमै छ। जिम्मेवार निकायको अपरिपक्व र अदूरदर्शी निर्णयका कारण ठूलो रकम खेर गएको छ।
पोखरीको बीच भागमा रहेको बालगोपालेश्र मन्दिर पुरातत्व विभागले राणाकालीन शैलीमा पुननिर्माण गरिरहेको छ। स्थानीयवासी र विज्ञले भने उक्त मन्दिरको पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।