विराटनगर– सबैका आ–आफ्नै इच्छा र सपना हुन्छन्। कसैले पूरा गर्छन् भने कसैले प्रयास नै नगरी बाटो मोड्छन्।
मोरङको जहदा गाउँपालिका २ का २८ वर्षीय तुलसी ‘कलाकार’को सपनाले उनलाई फरक काम गर्न उक्साएको छ। आँखामा पट्टी बाँधेर मूर्ति बनाउने र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन उनी यतिबेला जुटिरहेका छन्।
आँखा हेरेरै पनि मूर्ति बनाउनु सबैको वशको कुरा होइन। तर, तुलसी भने आँखामा पट्टी बाँधेर पनि सुन्दर मूर्ति बनाउँछन्। ७ वर्षकै उमेरदेखि मूर्ति बनाउन सुरु गरेका उनी विगत दुई वर्षदेखि विभिन्न ठाउँमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।
जहदा गाउँपालिका–१ स्थित दुर्गा माविका शिक्षक समेत रहेका तुलसीको गिनिज बुकमा नाम लेखाउने धोको छ। कलाप्रतिको मोहकै कारण उनले आफ्नो थर समेत मण्डलबाट फेरेर कलाकार राखे। कलाकारिताबाटै आफ्नो पहिचान बनोस् भन्ने उनको चाहना छ।
‘आफूलाई सबैले चिनोस् भन्ने सपना जोसुकैले राख्छ’, उनले भने, ‘म पनि त्यही सपना पूरा गर्न लागिपरेको हुँ।’
तुलसी आँखामा पट्टी बाँधेर ५० मिनेटमै एउटा मूर्ति बनाउन सक्छन्। उनी भन्छन्, ‘मूर्तिको आकार अनुसार समय कम–बढी लाग्छ, तर आँखा बन्द गरेरै बनाउन सक्छु।’
उनले सिमेन्ट, धातु, माटो, मार्बलको धूलो लगायतका धेरै मूर्ति बनाइसकेका छन्। भारतमा पनि मूर्ति बनाउने प्रोजेक्टमा आफूले काम गरिसकेको अनुभव उनले सुनाए। धेरै अभ्यास र मिहिनेतपछि मात्रै आँखा छोपेर मूर्ति बनाउन सक्षम भएको उनले बताए।
‘अभ्यासका क्रममा घरको धेरै काम लथालिंग पारे’, उनी भन्छन्, ‘तर, मिहिनेत गर्न छोडेको छैन।’
तुलसीका पिता झल्लु मण्डल मूर्ति बनाउन पारंगत थिए। गाउँ–टोलमा कुनै धार्मिक कार्यक्रम हुँदा मूर्ति बनाउन झल्लुकै खोजी हुन्थ्यो। पिताको कलाकारिता देखेर सानैदेखि आफ्नो मन छोएको तुलसी बताउँछन्।
‘कलाकारिताबाटै केही गर्नुपर्छ भन्ने सोच सानैमा आयो। तर, परिवारको इच्छा र आवश्यकताले सोच अनुसार काम गर्न सकिएन’, उनले भने, ‘अझै हरेस खाएको छैन।’
वृद्ध पिता, श्रीमती र छोराप्रतिको जिम्मेवारी पूरा गरेर आफ्नो सपना पूरा गर्ने कार्यमा आफू लागिपरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।