इटहरी- मनीषा खातुन र उनकी आमा इटहरीको एक मस्जिदमा आमरण अनसन बसे। बिहानैदेखि अनसन सुरु गरेका उनीहरू नमाज पढ्ने बेलामा मस्जिदबाटै निकालिए।
यो थियो २०७४ कात्तिकको घटना।
भर्खरै १६ पुगेर १७ लागेकी कक्षा ११ मा पढ्दै गरेकी मनीषा प्रेम सम्बन्धमा थिइन्। इटहरी ५ का सबिद मियाँले मनीषासँगै छोराको विवाह गर्ने निधो गरेका थिए। यादव थर र हिन्दु धर्म मान्दै गरेकी मनीषाको परिवारलाई मियाँले एक वर्ष अघिदेखि मुस्लिम बनाएका थिए। घरमा भएको तुलसीको मोठ पनि उनैले भत्काइदिए।
कात्तिक २८ गते सबिदका छोरा आजाद मियाँसँग मनीषाको विवाहको टुंगो लागेको थियो। तर बीचैमा सबिदले विवाह गर्न नसक्ने बताए। कारण थियो अर्को केटी पक्षबाट धेरै दाइजोको प्रस्ताव।
एक-अर्काको घरमा जाने, बुहारी भन्ने, काम अह्राउने, सम्धी-सम्धिना, सासू-ससुरा, सम्मको साइनो सुरु भएको थियो मनीषा र आजादको परिवारबीच। सुरुमा दाइजो नचाहिने बताउँदै आएका सबिदले पछि दाइजो थोर भएकै कारण छोराको विवाह स्थगित गरे।
एकाएक विवाहको कुरा टुंग्याएपछि मनीषाको परिवार न्यायका लागि मुस्लिम एकता 8मा गयो। मुस्लिम 8ले पनि कुनै प्रतिक्रिया नदिएपछि इलाका प्रहरी कार्यालय इटहरीको शरणमा पुग्यो। प्रहरीले कुनै प्रमाण नभएकोले केही गर्न नसकिने बतायो।
त्यसपछि आमासहित मनीषा मस्जिदमा न्याय खोज्दै अनसन बसे। तर त्यहाँबाटै निकालिनुपर्यो।
हुँदाछँदाको धर्म परिवर्तन गरेर छोरीको विवाहको तयारीमा लागेकी मनीषाकी आमा 'त्यही तुलसीको मोठले सरापेर यस्तो भएको होला' भन्ने दुखेसो गर्छिन्। दाइजो थोर भएकै कारण मनीषा र आजादबीचको सम्बन्धलाई बाबु सबिद मियाँले तिलान्जली दिए।
— O —
पाँच वर्षअगाडि १५ वर्षकै उमेरमा प्रेमविवाह गरेकी एलिसा कार्की अहिले आफन्तको सहारामा छिन्।
उर्लाबारीबाट इटहरी पाहुना गएका बेला इटहरी ९ का असीम मियासँग प्रेम सम्बन्धमा बाँधिइन् उनी। करिब ६ महिना लामो प्रेम सफल बनाउँदै उनीहरुले बिहे पनि गरे। तर बिस्तारै त्यो प्रेम खिइँदै गयो।
वर्ष दिन नबित्दै एक सन्तानकी आमा भइन् एलिसा। अहिले उनकी ३ वर्षकी छोरी छिन्। तिनै छोरीलाई छाडेर एलिसा आफन्तको शरणमा छिन्। 'पहिला म बाँच्छु र पो नानीलाई हेर्छु, म आफै नबाँचेपछि नानीलाई कसरी हेर्नु भन्दै भागेकी हुँ,' उनी भन्छिन्।
श्रीमान्ले विवाह दर्तासमेत गर्न नमानेको उनको भनाइ छ। घरमा श्रीमान्को चरम शारीरिक यातना सहन नसकेर भागेको उनले बताइन्।
असीमका दाजुको भर्खरै अन्सारी थरकी युवतीसँग विवाह भएको छ। 'उनीहरूले विवाह गरेको केही दिनमै विवाह दर्ता पनि गराए तर मलाई चाहिँ हिन्दुको छोरी भएकै कारण सधैं विभेद गरिरहे,’ एलिसा भन्छिन्, 'मैले असीमलाई विवाह दर्ता गर्नुपर्यो भन्दा धेरै पटक मार्ने धम्की पनि दिएका छन्।’ सासू, ससुराले गाली गर्ने छोरालाई उकासेर कुटाउने गरेको पीडा पनि उनले सुनाइन्।
फेसबुक चलाउन, पाइन्ट लगाउन र घरबाहिर निस्कनु त एलिसाका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। 'घुम्टो नलाएको निहूँमा कति पिटाइ खाएँखाएँ,' आँखाभरि आँसु पार्दै उनी भन्छिन्।'
असीमको परिवार पनि स्विकार्छन् यो कुरा। मुस्लिम परिवारमा पाइन्ट लगाउने, खुल्ला कपडा लगाएर हिँड्ने, फेसबुक चलाएर अरूसँग गफ गर्ने कुरा हुँदैन,’ असीमका बुवा भन्छन्, 'त्यो हाम्रो धर्मभित्र पर्दैन।’
गत जेठ २२ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन आएकी एलिसा कुनै हालतमा असीमको घर नजाने बाचा गरिरहेकी थिइन्। तर असीम र उनको परिवार भने घरको झगडा घरैमा मिलाउनुपर्ने बताउँदै थिए। चरम यातनाको डरले एलिसा एक्लै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेकी थिइन्।
असीमले एलिसालाई घर नजाने भए ५ लाख रुपैयाँ दिने वचन पनि दिए। तर माइती नेपालको प्रतिनिधि भन्दै छलफल स्थलमा आएकी सुन्दरहरैंचा ४ कि सावित्रा ढकालले पैसा दिनु नपर्ने भन्दै कानेखुसी गर्न थालिन्। त्यसपछि एलिसा माइत लागिन्, असीम आफ्नो घरतिर लागे।
अन्ततः असीम र एलिसाको प्रेमको डोरी पनि यसरी चुटियो। हिन्दु परिवारकी भएकै कारण एलिसालाई असीमका परिवारले स्विकार्न सकेनन्।
यी त इटहरीका प्रतिनिधि घटना मात्र हुन्।
दाइजोकै कारण टुंगो लागिसकेका धेरै विवाह रोकिएका छन्। मुस्लिम समुदायका युवा हिन्दु समुदायकी युवतीसँग प्रेममा पर्ने र प्रेमलाई विवाहमा परिणत गरेपछि धार्मिक कारण देखाउँदै तलाक गर्नेहरु बढिरहेका छन्। हिन्दु युवतीसँग संस्कार नमिल्ने तथा अनेक कारण देखाउँदै मुस्लिम नेताहरु नै तलाक (सम्बन्ध विच्छेद) गर्न दबाब दिइरहेका छन्।
२०७५ को सुरुवातदेखि हालसम्म दुहवी नगरपालिकामा मात्र १५ वटा तलाकका घटना दर्ता भएका छन्। जसमध्ये ११ वटा सानै उमेरमा विवाह गरेर श्रीमान् विदेश गएका कारण पीडित युवतीहरुको उजुरी आएको नगरपालिकाकी उपमेयर सुनिता शाहले बताइन्। त्यसमध्ये पनि अन्तरधार्मिक विवाह झनै समस्याको रूपमा देखा पर्ने गरेको उनको भनाइ छ।
इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा पनि अधिकांश तलाकका घटना दर्ता हुने गरेको पाइएको छ। उपमेयर लक्ष्मी गौतम अन्तरधार्मिक सांस्कृतिक विवाहले समस्याको रूप धारण गरिरहेको बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।