चर्चा गर्न खोजिएको पुस्तककी लेखकसँग मेरो चिनजान भएको लामै समय भए पनि आँखैअगाडि देख्न, छोएरै महसुस गर्न भने २०७४ सालमा मात्र पाएकी हुँ। पश्चिम नेपालकी उनी अमेरिकामा बस्छिन्, तर लाग्दैन उनी लामो समयदेखि अमेरिका बस्दै आएकी हुन्!
उनले सम्बोधनमा सुरुमै 'दिदी' भनेर बोलाइन् मलाई। अरुले जस्तो मेम, मेडम, आन्टी भनिनन्। नेपालीपन छ उनमा। र, साँच्चै नेपाली भाषा जोगाउने अभियन्ता हुन् उनी । आमालाई धेरै माया गर्छिन् उनी र त्यत्तिकै माया गर्छिन् देशलाई।
— O —
मैले कतै गार्गीको नाम सुनेँ। कहाँ हो थाहा छैन। गार्गीको नाम सुनेपछि विचार गर्दा हाम्रो 8मा उनलाई चिन्ने मानिस एकदम कम पाएँ। अनि आफैभित्र एउटा प्रश्न जन्मियो, 'किन पछि परिन् गार्गी?'
सीता वा द्रौपदी भन्नासाथ बच्चादेखि बूढासम्मका मानिसका दिमागमा एउटा चित्र बन्दछ। पोखरामा भएको एउटा निकै ठूलो योगको कार्यक्रममा मैले सोधेकी थिएँ, 'गार्गीलाई कत्तिले चिन्नुहुन्छ?' ना'को बराबर जवाफ पाएँ र मन दुखाएँ मैले।
तर्कशास्त्रमा अब्बल मानिएकी गार्गीको किन आज कतै चर्चा छैन? गार्गी कुन समयकी हुन्? उनले केके गरिन्? भन्ने विषयको चर्चा किन कतै भएन भन्ने प्रश्न सधैं मभित्र थियो र अझै छ।
त्यस्तै, एकदमै कम चर्चामा आएकी अर्की पात्र हुन् योगमाया। जसले राणाहरुको शासनकालमै न्यायको पक्षमा बोलेर ठूलो काम गरिन्। अन्यायको विरोध मात्र गरिनन्, आफ्नो व्यवहारमा, समूहमा जातपात र छुवाछुतको अन्त्य गरिन्। त्यो बेलाको त्यस्तो काम चानचुने आन्दोलन पक्कै थिएन।
म आफू पनि भोजपुरमै जन्मेकी र मावल दिङ्ला भएको हुँदा योगमायाका बारेमा रमरम कुरा सुनेकीसम्म हुँ। यसरी कुरा सुन्दा सुनाउनेले उनी हाम्री प्रेरणा हुन् भन्ने हिसाबले कसैले सुनाएनन्। जसरी २००७ सालका नायकहरुको कुरा सुनाउँथे। अथवा भनौं सुनेका कुराले कौतुहलता जन्माएन मनमनमा।
योगमाया पढिसकेपछि मलाई लाग्यो मेरो सामुन्नेमा आएर योगमाया उभिएकी छन्। र, मलाई प्रश्न गर्दैछिन, 'मैले खनेर गएको बाटो पिच गर्दैछौ? कि ग्राभेल मात्र गर्यौ? कि उस्तै छ?'
अनायास मैले जवाफ दिएँ, 'केही गरेका छैनौं बरु तपाईंले बनाइदिएको बाटो कतै विलीन भयो र त्यहाँ अन्धविश्वासको जंगल उम्रियो। राणाहरु त सत्ताविहीन भए तर जातपात उन्मूलन र नारी उत्थानका कुरा अन्धकारमा बिलाए। आज तपाईंले जल समाधि लिएको ७७ वर्षपछि मधुरो उज्यालो देखिँदैछ।' मुसुक्क मुस्कुराउँदै बिलाइन् योगमाया।
योगमाया उपन्यास पढिसकेपछि यो पनि भन्न मन लाग्यो– चर्चा गर्न योग्य काम गरेका तर चर्चामा नआएका व्यक्तिहरुलाई चर्चामा ल्याउनु पुण्यको काम हो। यो काम नीलम कार्की निहारिकाले गरेकी छन्।
योगमाया लेखेर नारी जातमाथि नै लेखकले न्याय गरेकी छन्। गार्गीलाई त्यसै जोडेकी होइन मैले। मेरो अन्तरमनले भन्छ- गार्गी वा योगमायाको ठाउँमा पुरुषहरु भएका भए आज चर्चाको उच्च शिखरमा हुन्थे होला। अनुयायीका झुन्डझुन्ड हुन्थे होला। थुप्रै कथा र कविता बन्थे होला। त्यो हुन नसकेको अवस्थामा योगमायाको जीवनमा आधारित यो पुस्तक लेखेर नेपाली 8लाई ठूलो गुण लगाएकी छन् लेखक नीलमले।
यो पुस्तक लेख्नुअघि नीलम खोजमा निस्केको कुरा पढ्न पाएकी थिएँ। उनले अन्तरवार्ता लिएका, मझुवाबेँसी पुगेका खबर पनि मसम्म आएका थिए। यो सब सुनिरहेकी मभित्र एउटा कौतुहलता जन्मेको थियो कि कसरी व्यवस्थापन गरिन् होला ती सामग्रीहरुलाई। पढ्दा थाहा पाएँ, बडो सुन्दर शैलीमा, व्यवस्थित ढंगले मिठो पारेर प्रस्तुत भएछन् सबै सामग्री।
लेखकको मेहनत साँच्चिकै देखिन्छ पुस्तकमा। सिंगो पुस्तक पढिसकेपछि लाग्यो योगमाया क्रान्तिकारी नेपाली नारी हुन्। धर्मको पर्दा ओढेर गरिएको राणा शासन विरुद्धको एउटा आन्दोलन थियो त्यो। योगवाणी अरुलाई लेखाएर आएको भए पनि नारीद्वारा रचित प्रथम पुस्तक हो। त्यसैले सामाजिक आन्दोलन र नारी लेखनमा कोशेढुंगा हुन् योगमाया।
यो पुस्तक पढ्दा आँखाका डिलबाट गालातिर झर्ने मेरा आँसुले धेरैपल्ट सलल बगेर घाँटीसम्म भिजाएका छन् तर दु:खमा होइन खुसीमा बगेका हुन् ती आँसु। त्रुटि हुन सक्छन् तर मैले कतै भेटिनँ। हुन सक्छ मेरो मन पर्ने लेखक र मैरै गाउँठाउँको पात्र भएर पर्गेल्न सकिनँ कि।
'प्रसंगवश' पढिसक्दा मेरा आँखा आँसुमा चुर्लुम्म डुबेका थिए र छाती गह्रुँगो भएको थियो। म यति भावुक भएँ कि पढिसकेको ५०३ पेजको किताबलाई म्वाइँ खाए र धेरैबेरसम्म छातीमा राखिइरहेँ। यो कस्तो भावुकता हो म भन्न सक्दिनँ।
प्रसंगवशमा लेखकले लेख्नुअघि योगमायाका नजिक रहेका र उनको विषयमा जानेका पात्रहरुकै प्रसंग छ तर त्यसैमा मिसिएर आएको छ अर्की आईमाई, चीरहरण र योगमायाकी लेखक नीलम कार्की निहारिकाको आफ्नो कथा पनि। सायद मेरो अन्तरलाई छोयो यसै विषयले।
अन्तमा, लेख्नलाई बाधा अवरोध नआऊन्, आए त्यसलाई जित्ने आत्मविश्वास सँगै आओस्। निरन्तर-निरन्तर सफलताको शुभकामना नीलम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।