पाँचथर- सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको संकट भएको छ। केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या आएको हो।
बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको छ। दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासी अहिले पानी आउन छाडेपछि मारमा परेका छन्।
बजार आसपास पानीको स्रोत नभएकाले ट्याक्टरमा ढुवानी गरेको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय होटल व्यवसायी केशव थापा बताउँछन्।
बजारमा अल्पकालीन रुपमा दिन बिराएर आउने गरेको देउराली खानेपानी आयोजनाको पानी पनि आउन छाडेको छ। खानेपानीको संकट भएपछि गाउँपालिकाको ट्याक्टरबाट स्थानीय छोरुङगा खोलाकोे पानी बजारमा वितरण गरिँदै हुँदै आएको छ।
यासोक–देउराली खानेपानी आयोजनाले व्यवसायीहरुलाई पानी वितरण गर्दै आए पनि स्थानीय बासिन्दाको मागलाई धान्न सकिरहेको छैन।
यासोक–देउराली खानेपानी आयोजनामा ६ सय ५० घरधुरी आश्रित छन्। तर, पानीको चुहावट रोक्न नसक्दा बजारबासीले लामो समयदेखि खोलाको पानी उपभोग गर्दै आएका छन्। बजारमा दैनिक २ लाख ५० हजार लिटर पानी खपत हुने गर्छ। तर, अहिले दैनिक ४० हजार लिटर मात्रै पानी आपूर्ति भइरहेको छ।
बजार व्यवस्थापन गर्न अझै केही दिन लाग्ने भएकाले खानेपानीको समस्या थप केही समयसम्म रहने बजार व्यवस्थापन उपभोक्ता समितिका सचिव महेन्द्रबहादुर खड्काले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।