काठमाडौं- नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भारतले नेपालको कृषि क्षेत्रको विकासका लागि आधा दर्जन क्षेत्रमा सहयोग गर्ने समझदारी गरेको जानकारी गराए।
भारतमा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी भई शुक्रबार स्वदेश फर्किएपछि उनले कृषि अनुसन्धान विश्वविद्यालय स्थापनाका लागि भारतले सहयोग गर्ने लगायतका सहमति गरिएको जानकारी गराए। समझदारीमा नेपालको कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना, कृषि उपजको बढदो आयात प्रतिष्थापन गर्न भारतीय पक्षले कृषिमा नयाँ साझेदारीका सम्भावनाहरु खोज्न सहमति भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको छलफल अनुसार मन्त्री खनाल र भारतीय समकक्षीबीच नेपालको कृषि क्षेत्रको विकासका सहमति गर्ने समझदारी भएको हो। सोही सहमतिलाई एक महिनाभित्र कार्यान्वयनमा लैजाने गरी तयारी गर्ने निर्णय पनि गरिएको मन्त्री खनालले बताए।
समझदारी अनुसार भारतले कृषि अनुसन्धान परिषदलाई अनुसन्धानमूलक विश्वविद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्नेछ। त्यसैगरी अर्गानिक खेती, प्राङगारिक मलको प्रयोग र क्वारेन्टाइन चेकपोस्ट स्थापनाका बारेमा पनि सहमति गरिएको छ। क्वारेन्टाइन नेपालको ४ वटा ठाउँमा स्थापना गर्ने सहमति गर्न पनि भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए।
मन्त्री खनालले अदुवामा हुने निकासीको समस्या तत्काल समाधान गर्न पनि भारतीय पक्षसँग आग्रह गरिएको पनि स्पष्ट पारे। समझदारी अनुसार भारतले नेपाललाई आवश्यक रासायनिक मल उपलब्ध गराउनेछ। नेपाली किसानहरुलाई समयमै मल उपलब्ध गराउने गरी सहमति गरिएको पनि मन्त्री खनालले बताए। उनले नेपालको निर्यात व्यापारमा कुनै समस्या भए तत्काल समाधान गर्ने प्रतिवद्धता पनि भारतीय पक्षले जनाएको उल्लेख गरे।
भारतले नेपालको अर्गानिक खेती प्रविधिको विकासका लागि पाइलट प्रोजेक्टमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
नेपाल–भारतबीच सन १९९१ पछि कृषि क्षेत्रमा भएको यो नै पहिलो समझदारी हो। सो समझदारीलाई अघि बढाउन थप छलफलका लागि भारतीय कृषि मन्त्री राधामोहन सिंह नेपाल आउनेछन्। मन्त्री खनालले भारतीय समकक्षी सिंहको नेपाल भ्रमण छिट्टै हुने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नै नेपालको कृषि क्षेत्रको विकासमा समझदारी गरेर अघि बढ्ने सहमति भएको थियो। सोही सहमतिलाई अघि बढाउन कृषि मन्त्री खनाल भारत गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।