बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको चीन भ्रमणले नेपालको समृद्धिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ।
नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ।
प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको भेटवार्ताले नयाँ उचाइ लिनुका साथै आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ।
सरकारी तथा निजीस्तरमा भएका सम्झौता र सहमतिले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश गएको छ भने राजनीतिक स्थायित्व कायम भएको भरपर्दो सन्देश चिनियाँ पक्षलाई दिलाउन सफल भएको छ।
समृद्ध नेपाल सुखी नेपालीको मुद्दा चीनले आधिकारिक रुपमै स्वीकार गरेर यसका लक्ष्य प्राप्तिमा चीनको सक्दो सहयोग हुने प्रतिबद्धता आउनुले पनि नेपालको समृद्धिप्रतिको मुद्दा विस्तार भएको हो।
नेपालको विशेष प्राथमिकतामा परेको रेलमार्गसम्बन्धी प्रस्तावलाई चीनका राष्ट्रपतिकै तहबाट ‘इन्डोर्स’ भएको छ। यो नेपाल र नेपालीका लागि महत्वपूर्ण विषय हो। भविष्यमा यो विषयले क्षेत्रीयरुपमा नै असर पार्ने देखिन्छ।
हिमालयन वारपार रेलवेसम्बन्धी सम्झौताबाट उत्साहित हुनुपर्ने विविध कारणमध्ये यसले मुलुकको अर्थतन्त्र र यस क्षेत्रमा ल्याउने बहुआयामिक परिवर्तन नै हो। त्यसैले पनि यो सम्झौता सबैभन्दा महत्वपूर्ण पहल हो, जहाँबाट पारस्पारिक सहयोगको क्षेत्रमा नयाँ युगको शुरुवात हुने विश्वास लिइएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालमा ७ वर्षभित्र रेल आउने विश्वास व्यक्त गर्दा विश्वकै शक्तिशाली चीनका राष्ट्रपतिले अपनत्व लिएकाले नेपाल मात्र नभई क्षेत्रीयस्तरमै व्यापार तथा आर्थिक गतिविधिमा महत्वपूर्ण असर पर्ने देखिएको छ।
यातायात पारवाहनको प्रोटोकलमा हस्ताक्षर भएसँगै चीनको स्वशासित क्षेत्रमा नेपाली मालसामान बोकेका सवारी साधन चल्न सक्ने व्यवस्थाले हाम्रो हिमाली क्षेत्रमा हुने आवतजावतका लागिसमेत सहज हुने भएको छ। यो सम्झौताले नेपालको उत्तरी बेल्टमा व्यापार आदानप्रदानलाई गति दिन्छ।
त्यसैगरी, ऊर्जा तथा योसँग सम्बन्धित विषयमा भएका विचार विमर्शमा यसपटक भएका सम्झौताले विद्युत् आदानप्रदानमा सहजता ल्याउनुका साथै देशको आर्थिक गतिविधि तथा विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ।
उच्चस्तरमा भएको वार्ताका आधारमा भएका सहमतिले आगामी दिनमा गति लिनेमा शंका गर्नु हुँदैन। त्यसका साथै प्रधानमन्त्रीसहित सरकारका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्नु दुवै देशको कर्तव्य हुनेछ। त्यसले गर्दा नेपालले अगाडि बढाएको समृद्धिको मुद्दालाई महत्वपूर्ण सहयोग पुग्नेछ।
निजी क्षेत्रको विश्वास र लगानी
प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा भएको सम्झौताले देश अब समृद्धिको बाटोमा अगाडि बढ्यो भन्ने सन्देश दिएको छ।
सरकारमाथि शंका गर्ने र लगानीको वातावरण छैन भन्ने गरेका नेपालका उद्योगी व्यवसायीले पनि नेपालीमा लगानीको वातावरण सिर्जना भयो भन्ने सन्देश गएको बताएका छन्।
इन्भेस्टमेन्ट बोर्ड र ह्वासिन सिमेन्टबीच १४४ मिलियन अमेरिकी डलरबराबरको लगानी, सिँचाइ तथा चाइन कन्स्ट्रक्सन कम्पनीबीच भएको सम्झौता, उद्योग वाणिज्य महासंघसँग भएको सम्झौता र पस्मिना उद्योगका विषयमा भएको सम्झौता अत्यन्त महत्वपूर्ण सम्झौता हुन्।
दूतावासमा भएका सम्झौताबारे उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भन्छिन्, 'हामीले यहाँ भएका सम्झौतालाई अत्यन्त महत्वपूर्ण र सकारात्मक रुपमा लिएका छौं। विभिन्न क्षेत्रमा भएका सम्झौताले नेपालको समृद्धिको यात्रामा सहयोग गर्छ।'
सिमेन्ट, कृषि, ऊर्जामा भएका सम्झौता शुरुवात मात्र भएको बताउँदै अध्यक्ष राणाले नेपालमा ठूलो लगानी भित्रने विश्वास व्यक्त गरेकी छिन्। प्रधानमन्त्रीले निजी क्षेत्रलाई गरेको विश्वासले नेपालमा लगानीको वातावरण छ भन्ने स्पष्ट सन्देश दिएको उनको बुझाइ छ।
नेपाल विद्युत् प्राधिकरण र चीनको सरकारी निकायसँग भएको सम्झौताले नेपालको आवश्यकताका आधारमा विद्युत आदानप्रदान गर्न सकिने अवस्था सिर्जना भएको छ। उसले ऊर्जा व्यापारमा महत्वपूर्ण अर्थ राख्छ।
सम्झौता सम्पन्न भएपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको मुख्य प्राथमिकता अनुसार चीनसँग रहेको औद्योगिक सामर्थ्यलाई देशको हितमा सदुपयोग होस् भनी सोही अनुसार सकारात्मक रुपमा विषयहरु अघि बढेको बताएका छन्।
उनले सम्झौतालाई सही अर्थमा कार्यान्वयन गर्न सके चिनियाँ लगानीकर्तालाई आकर्षण गर्न सकिने र अरुलाई प्रोत्साहन मिल्ने बताएका छन्। 'नेपालमा लगानीको आकर्षण छ,' उनले भने, ‘लगानी गर्नुहोस्, कुनै समस्या छैन भन्ने सन्देश गएको छ।’
सम्झौतापछि चिनियाँ निजी क्षेत्रसँग प्रधानमन्त्री ओलीले भनेका छन्, 'यस अवसरमा म चिनियाँ मित्रलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्छु, प्रतिबद्धतासहितको स्थायी सरकार बनेको छ, अब हाम्रो लक्ष्य सुशासन र विकास नै हो।'
नीतिगत तथा व्यवहारमा देखिएका समस्या सुल्झाएर उद्योगमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले थपे, 'महँगो छैन, मजदूर समस्या छैन, हडताल पनि छैन, दुई देशको समृद्धिका लागि विभिन्न मोडलमा लगानी हुनुपर्छ।'
संयुक्त रुपमा लगानीलाई बढाउन आग्रह गर्दै समृद्धिको यात्रामा विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण भएकाले अभियानका रुपमा अगाडि बढाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सम्झौताले दुवै देशले लाभ प्राप्त गर्न सक्नुपर्नेमा जोड दिएका थिए।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चीन र नेपालबीच निजी तथा सरकारी क्षेत्रमा भएका सम्झौताबाट उत्साहित भएको बताएका छन्।
चीन–नेपाल विजिनेस फोरमका अध्यक्ष जियाङ झ्याङहुईले समृद्धिलाई साकार पार्नका लागि नेपालले वैदेशिक व्यापार, लगानीका लागि सहकार्य र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने सुझाएका छन्।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने क्रममा उक्त विषयमा ध्यान दिन सके नेपालले अगाडि बढाएको समृद्धिको सपना पूरा हुने उनले धारणा राखेका थिए।
नेपालसँग भएका कृषि उत्पादन आफ्नो मुलुकमा निर्यात गर्ने अवस्था सिर्जना गर्न सुझाव दिँदै उनले भने, 'चाइनामा अरु उत्पादन पठाउनुहोस्।'
प्रधानमन्त्रीसहित लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको वातावरण सिर्जना भएकाले द्विविधा नलिइकन नेपालमा लगानी गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।