काठमाडौं -संगठित रुपमा सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न थप दुई व्यापारी पक्राउ परेका छन्। बिशेष अनुसन्धान टोलीले सलमान भनिने सैयद अकबर शाह र डब्बु भनिने इन्तियाजलाई पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक अपराध मुद्दामा थुनामा राख्ने म्याद लिइ अनुसन्धान टोलीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ।
अकबर शाह भारतीय अपराधीक समूहबाट मारिएका मिडिया उद्यमी जमिम शाहका आफन्त हुन्। उनले ललितपुरको लबिम मलमा रेस्टुरेन्ट चलाउँदै आएका छन्। कालोपुल बस्ने इन्जियाज पनि काठमाडौंमा विभिन्न व्यवसायमा आबद्ध व्यक्ति हुन्।
स्रोतका अनुसार दुवै जना सुरुमा हुन्डीको कारोबारबाट सो समूहसँग आबद्ध भएका थिए। पछि तस्करीमा लगानी गर्न थालेका हुन्।
हल पुर्पक्षमा रहेका डा. डेबिट भनिने छिरिङ गुरुङमाथि अनुसन्धान गर्नेक्रममा उनीहरुको संलग्नता खुलेको हो।
अनुसन्धान टोलीले मंगलबार मात्र भारतीय व्यापारी विमल पोद्दारलार्ई पक्राउ गरेको थियो। नेपालका ठूला व्यापारीहरुसँग मिलेर काम गर्दै आएका पोद्दार डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन्।
पक्राउ परेका तीनै जनाको सुन तस्करी र हुन्डी दुवै कारोबारमा संलग्नता देखिएको अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए।
अनुसन्धान टोलीले गिरोहको उच्च तहमा रहेका व्यक्तिमाथि अनुसन्धान केन्द्रीत गरिरहेको छ। जसमा ठूला व्यक्तिहरु पक्राउ पर्ने अपेक्षा गरिएको छ।
गिरोहमा आबद्ध चार जना व्यक्तिविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिसकेको छ।
काभ्रे बेथानचोक– ४ घर भएका हरी शरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले बताए।
तस्करीमा सहयोग गरेको आरोपमा बिशेष अनुसन्धान टोलीले हालसम्म ४३ जनालाई पक्राउ गरिसकेको छ। टोलीको सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले ६२ जना उपर दुई महिनाअघि मुद्दा चलाएको थियो। जसमध्ये २८ जना अझै फरार छन्। तस्करीमा संलग्न थप व्यक्तिको पनि पहिचान खुलिसकेको छ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटपाट भएपछि छानबिन गर्ने क्रममा सुन तस्करी गिरोहको पर्दाफास भएको थियो।
सोही सुन लुटेको आशंकामा गिरोहमा आबद्ध सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाबाट आफुलाई जोगाउन चुडामणि उप्रेतीले गरेको चलखेल छानबिन गर्दा सुन तस्करीमा संलग्न थप व्यक्तिहरु पक्राउ परेका हुन्।
तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित ३३ जना हाल कारागारमा छन्। ६ जनालाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।