काठमाडौं- सरकारले विदेशी मुलुकबाट हुने वस्तुको अनियन्त्रित आयात रोक्ने तयारी गरेको छ। आयात बढेर स्वदेशी उद्योग र उत्पादन धराशायी हुने अवस्था निम्तिन लागेपछि सरकारले ऐन नै ल्याएर आयातमा अंकुश लगाउन खोजेको हो।
सरकारले सेफगार्ड्स, एन्टी– डम्पिङ तथा काउन्टरभेलिङ ऐनमार्फत आयातलाई न्यूनीकरण गर्न खोजेको हो।
आयात बढ्दा पछिल्लो समय नेपालको व्यापार घाटा अत्यधिक चुलिएर गएको छ भने आन्तरिक उत्पादन नाजुक हुँदै गएका छन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा मात्रै नेपालले करिब ९ खर्ब १७ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात गरेको छ। जबकि निर्यात ६६ अर्ब ५२ करोड रुपैयाँ मूल्य बराबर मात्रै छ।
नेपालमा आयात अत्यधिक बढेको तर्फ संकेत गर्दै केही समयअघि अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल विश्वका कमसल वस्तु बिकाउने ‘डम्पिङ साइट’ नभएको उल्लेख गरेका थिए। यसलाई रोक्नु आवश्यक भएको धारणा उनले व्यक्त गरेका थिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको गरेको सेफगार्ड्स, एन्टी– डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ मन्त्रालयले पनि आफ्नो रायसहितको स्वीकृति दिइसकेको छ।
वाणिज्य मन्त्रालयको कानुन महाशाखाका उपसचिव रामजी दनाईका अनुसार अर्थबाट प्राप्त रायका आधारमा उक्त विधेयकमाथि छलफल भइरहेको छ। ‘छलफल सकिएलगत्तै उक्त विधेयक तर्जुमा सहमतिका लागि कानुन मन्त्रालय पठाउँछौं,’ उनले भने। कानुनबाट सहमति भएपछि उक्त ऐन मन्त्रिपरिषद्मा पेस गरिने र मन्त्रिपरिषद्ले पास गरेपछि लागू हुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरको उक्त विधेयक अनुसार स्वदेशी उद्योगलाई हानि पुर्याउने गरी अनपेक्षित र अस्वाभाविक रुपमा हुने वस्तुको आयातमा सरकारले अतिरिक्त भन्सार महसुल लगाउने मात्र होइन पूर्ण वा आंशिक बन्देजसम्म लगाउने व्यवस्था गरिएको छ।
उक्त विधेयकमा समान प्रकृतिका वस्तु र प्रत्यक्ष प्रतिस्पर्धात्मक वस्तुको कुल आयातको ३ प्रतिशतभन्दा कम परिमाणमा विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुमा सेफगार्ड्स नलगाउने व्यवस्था छ।
तर, एकभन्दा बढी विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुको परिमाण स्वदेशमा हुने समान प्रकृतिको वस्तु र प्रत्यक्ष प्रतिस्पर्धात्मक वस्तुको कुल आयातको ९ प्रतिशतभन्दा बढी भएमा ३ प्रतिशतभन्दा कम हिस्सा रहने गरी कुनै विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुमा समेत सेफगार्ड्स लगाउने व्यवस्था गरिएको छ। यस्तो सेफगार्ड्स समान प्रकृतिका वस्तुमा फरक– फरक दरमा लगाउने व्यवस्था विधेयकमा छ।
स्वदेशी उद्योगलाई आघात पुग्नेगरी आयात हुने वस्तुमा अधिकतम ६ वर्षसम्म सेफगार्ड्स लगाउन पाउने व्यवस्था गरिएको छ।
कुनै पनि वस्तुको अस्वाभाविक आयातले स्वदेशी उद्योग धराशायी हुने अवस्था आएको प्रमाण भेटिए त्यस्ता वस्तुमा तत्कालै अन्तरिम सेफगार्ड्स लगाउन पाउने व्यवस्था पनि गरिएको छ, त्यसको अवधि बढीमा २ सय दिन हुनेछ।
त्यस्तै, विदेशी मुद्रा सञ्चिती समस्या वा अन्य कुनै कारणले भुक्तानी सन्तुलनमा गम्भीर समस्या उत्पन्न भएमा त्यस्ता वस्तुको आयातमा विशेष सेफगार्ड्स लगाउन पाउने व्यवस्थासमेत गरिएको छ। आर्थिक, औद्योगिक वा राष्ट्रिय आवश्यकता तथा प्राथमिकताको स्वदेशी उद्योगको स्थापना वा सञ्चालनमा आवश्यक संरक्षण प्रदान गर्न आवश्यक भएको खण्डमा पनि आयात हुने वस्तुमा विशेष सेफगार्ड्स लगाउने व्यवस्था गरिएको छ।
कुनै पनि उद्योगले आफ्नो आवश्यकताभन्दा बढी कच्चा पदार्थ आयात गर्न नपाउने व्यवस्था पनि उक्त विधेयकमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।