काठमाडौं– संघीय संसदका दुवै सदनको संयुक्त बैठक सञ्चालन र संयुक्त समिति गठन सम्बन्धी नियमावली संघीय संसदको संयुक्त बैठकबाट बहुमतले पारित भएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको संयुक्त बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले नियमावली पारित गर्न राखेको प्रस्ताव नेपाली कांग्रेस लगायतले समर्थन गर्दै बहुमतले पारित गरेको हो। नियमावलीमा नेमकिपा र केही स्वतन्त्र सांसदहरुले संशोधन दर्ता गराएका थिए।
संयुक्त बैठकमा पारित नियमावलीमा संयुक्त बैठक सञ्चालनको कार्यविधि र संयुक्त समिति गठनको विधि उल्लेख छ। संसदको अधिवेशन आह्वान भएपछि संयुक्त बैठक कसरी र कसले आह्वान गर्ने तथा राष्ट्रियसभाले पारित गरेको विधेयक प्रतिनिधिसभाले अस्वीकृत गरे, संयुक्त बैठकमा पेस गर्ने नियमावलीमा उल्लेख छ।
यस्तै प्रतिनिधिसभाले पठाएको विधेयकमाथि परेका संशोधनमा राष्ट्रियसभामा सहमति जुट्न नसके संयुक्त बैठकमा पेस गर्न बैठक कसरी बोलाउने भन्ने विषय पनि विधेयकमा उल्लेख छ। संविधान संशोधन, महाअभियोग लगायत चार वटा विषय प्रतिनिधिसभा र राष्ट्रियसभाले टुङ्ग्याउने भए पनि जनमत सम्बन्धी व्यवस्था भने संयुक्त बैठकको दुई तिहाइले टुङ्ग्याउनुपर्ने व्यवस्था नियमावलीमा समेटिएको छ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहने गरी १५ सदस्यीय संसदीय सुनुवाइ समिति गठन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा पनि १५ सदस्य रहने नियमावलीमा उल्लेख छ।
गत फागुन २२ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकले गठन गरेका नियमावली मस्यौदा समितिलाई नै संयुक्त नियमावली बनाउन कार्यादेश दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।