हेटौंडा- तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोग तथा प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिएका छन्।
ती दुई काण्डले गर्दा चुनावमा पार्टी कमजोर भएको भन्दै जिल्ला सभापतिहरुले प्रश्न उठाएपछि देउवाले प्रष्ट पारेका हुन्। हेटौंडामा शुक्रबार सम्पन्न जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै उनले दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको बताए। कार्यसम्पादन मूल्यांकनका आधारमा आफूले आइजिपी बढुवा गरेको उनको भनाइ थियो।
नवराज सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजिपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि आफूहरुले पछि प्रकाश अर्याललाई आइजिपी बनाएको उनको भनाइ थियो। ‘नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेपछि प्रधानन्याधीशको कार्यक्षमतामा कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो,’ देउवाले भने।
‘अहिले जाली काम गर्ने कहाँ छन्?’ देउवाले भने, ‘उनी (सिलवाल) त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो।’
सम्बोधनका क्रममा सभापति देउवाले सबै मिलेर पार्टीलाई बलियो बनाई अघि बढाइने बताएका छन्। पार्टीलाई पहिलो नम्बरमा पुर्याउन आफू आजैदेखि लाग्ने भन्दै उनले सबैलाई एकजुट हुन आग्रह गरे।
२१ बुँदै घोषणापत्र सार्वजनिक गर्दै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।