हेटौंडा– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व अब एकजुट भएर अगाडि बढ्ने बताएका छन्। जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै उनले आफूले पार्टीमा गुटको राजनीति नगरेको र पार्टीलाई बलियो बनाउन सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएको बताए।
जिल्ला सभापतिहरुले पार्टी नेतृत्वमा गुटबन्दी भएकाले पार्टी कमजोर भएको प्रश्न उठाएपछि जवाफमा उनले यस्तो बताएका हुन्।
छिट्टै पार्टीको प्रदेश संरचना गठन हुने पनि उनले बताए। प्रदेश अधिवेशन गरेर प्रदेश समितिहरु गठनलाई पार्टी नेतृत्वले प्राथमिकता दिने पौडेलले बताए।
समापन कार्यक्रममा उनले अहिलेको सरकारले सबैतिर पक्षपातको राज चलाएको आरोपसमेत लगाए। द्वन्द्वकालमा तत्कालीन माओवादीले लुटेका सम्पत्तिलाई वैधानिकता दिने प्रयास भइरहेको उनको आरोप थियो।
हेटौंडामा चार दिनदेखि जारी कांग्रेसका सभापतिहरुको भेला आज सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।