विराटनगर– निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ।
विराटनगरमा बिहीबार आयोजित प्रदेश १ को निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले अगामी वर्षमा हुने निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिइनुपर्ने बताएका हुन्।
उनले निर्वाचनलाई स्वतन्त्र, मितव्ययी, निष्पक्ष, भयरहित, स्वतन्त्र एवम् पारदर्शी बनाउन सहभागीको अमूल्य सुझावले आयोगको काममा बल पुग्ने विश्वास व्यक्त गरे।
सो क्रममा निर्वाचनको पूर्वतयारी, निर्वाचन मिति, निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र कानुनको तर्जुमा, मतदाता नामावली र मतदाता परिचयपत्र, राजनीतिक दल दर्ता, मतदान केन्द्रको पुनरावलोकन, निर्वाचन कार्यक्रम सञ्चालन, निर्वाचन प्रचार–प्रसार, आचारसंहिता अनुगमन, जनशक्ति व्यवस्थापन, मतपत्र व्यवस्थापन, निर्वाचन सामग्रीजस्ता निर्वाचनमा आवश्यक पर्ने पृष्ठभूमिमा रहेर सहभागीले आ–आफ्ना लिखित सुझाव दिएका थिए।
कार्यक्रममा झापाका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललगायत सबै अधिकृत र अधिकारीलाई प्रशंसापत्र वितरण गरिएको थियो।
दुई दिने सो कार्यक्रममा प्रदेश १ का प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश, जिल्ला निर्वाचन अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन पर्यवेक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागिता थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।